काठमाडौँ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थतन्त्र सुधारका निम्ति सरकारले गर्नुपर्ने कामका बारेमा आम नागरिक, उद्योगी व्यवसायी, संघसंस्था, सार्वजनिक निकाय, वैदेशिक लगानीकर्ता तथा विज्ञहरुबाट सुझाव माग गरिएको छ

सरकारले असोज २१ गते गठन गरेको पूर्व अर्थ सचिव रामेश्वर खनालको अध्यक्षतामा गठित आयोगले ६ महिनाभित्र सरकारलाई आर्थिक सुधारका लागि सुझावहरू दिने भएको छ । सरकारलाई सुझाव दिनकै लागि आयोगले अहिले आम नागरिक, व्यवसायी, लगानीकर्ता, विज्ञहरूसँग सुझावको माग गरिरहेको छ ।

आयोग सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका प्रमुख प्रा.ड.रामप्रसाद ज्ञवाली, अर्थविद् डा.विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा.कल्पना खनाल छन् ।

विद्यमान आर्थिक समस्या समाधान गर्दै समतामूलक तथा दिगो उच्च आर्थिक वृद्धि, रोजगारी सिर्जना, अर्थतन्त्रको संरचनात्मक परिवर्तन गरी औद्योगिक-उत्पादनशील अर्थतन्त्र निर्माण, गरिबी निवारण गरी समृद्ध नेपाल निर्माण गर्न आर्थिक सुधारका सुझावहरू आयोगले सरकारलाई बुझाउने छ।

इच्छुक आम नागरिक, वैदेशिक लगानीकर्ता, विज्ञ तथा व्यवसायीहरूले आगामी मङ्सिर १५ गतेभित्र आयोगको सचिवालय हरिहर भवन ललितपुरमा पुग्ने गरी सुझाव पठाउन सक्नेछन् ।