काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन आज उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष हस्तान्तरण गरिएको छ । आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले आज अर्थ मन्त्रालयमा उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

उक्त प्रतिवेदनमा तत्कालका लागि नयाँ स्टक एक्सचेन्ज आवश्यक नरहेको निष्कर्ष निकालेको छ। अहिलेको अवस्था हेर्दा नयाँ एक्सचेन्ज खोल्ने औचित्य नरहेको र बरु वर्तमान नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पुनः संरचना गर्नुपर्ने उल्लेख गरिएको छ।

सोही सन्दर्भमा आर्थिक भ्वाइसले लगानीकर्ता तथा शेयरविश्लेषक तुलसीराम ढकाल र तारा प्रसाद फुल्लेललाई यसको प्रभावकारिता र कार्यान्वयन देखिएको चुनौतीको विषयमा सोधेको छ । प्रस्तुत ढकाल र फुल्लेलको धारणा

तुलसीराम ढकाल

आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन सरसरती रूपमा अध्ययन गरेपश्चात् यो निकै कमजोर ढङ्गले तयार पारिएको महसुस भएको छ । त्यसमाथि नयाँ एक्सचेन्जको सन्दर्भमा आयोगको प्रतिवेदन निकै कमजोर र हास्यास्पद छ ।

सामान्यतया प्रतिवेदन आउनका लागि त्यसमा लामो अध्ययन र छलफल तथा सुझाव जोडिन्छ । समितिले त्यसो पनि गरे होला यत्रो लामो अवधिमा सुझाव पनि लिए होला तर नयाँ एक्सचेन्ज आवश्यक होइन भन्नेहरूसँग मात्रै परामर्श गरेर ल्याएको हो कि भन्ने आभास भएको छ ।

किनभने आज आम लगानकर्तादेखि विश्लेषक र सबै बजार जानकारहरूले नयाँ एक्सचेन्जको आवश्यकता औँल्याइरहेको सयमयमा यसरी एकात्मक प्रतिवेदन आउनु हास्यास्पद छ । गहकिलो समीक्षा बेगर नै ल्याइएको भन्ने अनुमान लाउन सकिन्छ । प्रतिवेदनमा नेप्सेको पुँजी विस्तार गर्दै निजी क्षेत्रलाई स्वामित्वको हिस्सा दिनु उपयुक्त हुने भनिएको छ जुन वाक्य वा भाव छ त्यो सरसर गलत हो भन्ने मेरो धारणा हो ।

सरकारले प्रक्रिया अगाडि बढाएर अदालतमा मुद्दा परे त्यहाँबाट पनि फेरि किनारा लागेको विषयमा अब अहिले आएर नयाँ एक्सचेन्ज चाहिँदैन भन्नु गलत हो । नयाँ एक्सचेन्ज आवश्यकता भएकै कारण यसको माग र बहस हुन थालेको हो । हाल भएको नेप्से हामीलाई पर्याप्त नभएकै कारण अर्को हुनुपर्छ भन्ने हो । समय अनुसारको परिवर्तन हेर्दै गर्दा यो अब साँघुरो भएको छ । बजारमा पुरानो र एकाधिकारवाला भएको छ यसको एकाधिकार तोडेर प्रतिस्पर्धामा लैजान समेत नयाँ जरुरी छ।

यसकारण आयोगले यो जसरी प्रतिवेदन ल्याएको छ । यो आइरहने कुरा हो हिजोका दिनमा पनि आएकै हो । सुझावको रूपमा आएको सबै विषयमा कार्यान्वयनमा आउँछ भन्ने पनि हाईन यसको सन्दर्भमा त झन् कुनै पनि हालतमा प्रयोगमा आउन सक्दैन कुनै कुनामा यो प्रतिवेदन डल्लो परेर जान्छ भन्ने मलाई लाग्दछ ।

हालको स्टक एक्सचेन्जको एउटा प्रमुख लगानीकर्ताको रूपमा रहेको व्यक्तिलाई नै आयोगको सदस्यको रूपमा राखेपछि नेपाल स्टक एक्सचेन्जको प्रतिस्पर्धी आवश्यक छ भनेर प्रतिवेदन आउने सम्भावना नै रहेन । दोस्रो कुरा सामान्य कमजोरी भएको विषयमा हो पुनः संरचना खोज्ने हाम्रो हाल भएको नेप्सेको सन्दर्भमा यो सुहाउँदैन यो निकै ठुलो गहिराइमा पुगिसकेको छ भन्ने मेरो महसुस हो यसकारण यसलाई अब  पुनः संरचनाको नाराले छुँदैन र नयाँ ल्याउनुको विकल्प हैन छैन भन्ने मलाई लाग्दछ ।

तारा प्रसाद फुल्लेल

पहिलो विषय त उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग स्टक एक्सचेन्जको मर्म र आवश्यकताको विषयमा पर्याप्त छलफल नभएको र अपरिपक्व धारणाका आधारमा प्रतिवेदन सार्वजनिक गरेको देखियो ।

सटिक रूपमा भन्ने हो भने शेयर बजारमा अबको विकल्प भनेकै नयाँ स्टक एक्सचेन्जको हो । आयोगको प्रतिवेदन पुरापुर गलत छ । हाल भएको नेपाल स्टक एक्सचेन्जलाई पुनः संरचना गरेर जाने भन्ने विषय केही मात्रामा सहमति हुन सकिएला तर नयाँ आवश्यक होइन भन्ने विषय लगानीकर्ताको हित विपरीत छ । लगानीकर्ताले आज मात्रै हैन वर्षौँ अगाडिदेखि माग गर्दै आएको विषय हो । माग गर्ने भनेकै आवश्यक भएको कारण हो ।

अर्को भनेको हाम्रो हालको नेप्से प्रविधिमय छैन र यसलाई अब त्यो प्रविधिको मोडेलमा कन्भर्ट गर्न समेत सकिने अवस्था छैन । लगानीर्तालाई सिमित कारोबारमा खुम्चाउने र निश्चित लाभ ग्रहण गरिरहेका व्यक्ति वा संस्थालाई पूजा गर्ने बाहेक योे निर्णय सबै ढङ्गले गलत छ यसकारण यसको कार्वान्वयन ठिक छैन । बरु सरकारले नयाँ स्कट एक्सचेन्ज ल्याउने सन्दर्भमा रोकिएका काम तत्काल अगाडि बढाउनुपर्छ भन्ने मेरो धारणा हो ।

निजी क्षेत्रलाई स्वामित्वको हिस्सा दिनुहुन्न भन्ने जुन प्रतिवेदनको ठहर छ यो पूर्णरुपमा गलत छ । किनकि सरकारले निजी क्षेत्रलाई सँगै लिएर जानुपर्छ, प्रोत्साहन थप्नुपर्छ भन्ने नीति लिएको समयमा त्यो सुझाव आउनु गलत हो ।  सेयर कारोबारसँग सम्बन्धित शुल्कहरू घटाउन र प्रणालीलाई झन् प्रभावकारी बनाउने भनिए पनि यो व्यवहारिक देखिदैन् । लगानीकर्ता मैत्री देखिदैन् । पहिलो विषय त यसको आवश्यकताको महसुस किन हुन थाल्यो, आम मान्छेले नयाँ स्टकको आवश्यकता माग किन गर्न थाले भन्ने ससाना प्रश्नहरूको समेत जवाफ खोज्न जरुरी छ ।

हामीसँग पर्याप्त सुविधा भएर पनि नयाँ माग गरेको होइन प्रतिस्पर्धाको बजारमा समेत संकुचित कारोबारमा अल्झिनुपर्ने , प्रविधिमय हुन नसकिएको , र सिस्टममा पटक पटक देखिने खराबीको कारण नयाँ स्टक माग गरिएको हो । यसको अर्को विकल्प केही हुन सक्दैन शेयर बजारको बिस्तारको निमित्त नयाँ स्टक जरुरी हो भन्ने हाम्रो धारणा हो ।