देशको समग्र अर्थतन्त्रको अवस्थामा अपेक्षा अनुरूप सुधार आउन सकेको छैन । उत्पादनशील क्षेत्रमा लगानी नभएकै कारण अर्थतन्त्रले अपेक्षा अनुरूप परिणाम दिन नसकेको कतिपय जानकारहरूको भनाई छ । यद्यपि पछिल्लो समय भने क्रमिक रूपमा अर्थतन्त्रको खस्किँदो अवस्थामा सुधार आएको विश्लेषकहरूको भनाई छ । देशको समग्र अर्थतन्त्रमा केन्द्रित भएर आर्थिक भ्वाइसले अर्थविद् डा.चन्द्रमणी अधिकारीलाई सोधेको छ । प्रस्तुत छ अधिकारीको धारणा ।
पहिलो विषय त नेपालको अर्थतन्त्र नै अहिले विरोधाभासको अवस्थामा छ। द्वन्द्वात्मक चक्रमा रहेको हाम्रो अर्थतन्त्रबारे जो कसैले प्रस्ट रूपमा व्याख्या गर्न सक्छ भन्ने लाग्छ । सञ्चारमाध्यम हेरौँ, समाचार पढौँ वा टेलिभिजन हेरौँ सरकारले अर्थतन्त्र सकारात्मक छ, सुधारात्मक छ भन्छ। यस्तै राष्ट्र बैंकको तथ्यांक हेर्दा पनि बाह्य पक्षमा केही सुधार देखिन्छ ।
तर ती सुधारका सूचकहरूले आम नागरिकको दैनिक जीवनमा खासै सकारात्मक प्रभाव पार्न सकेका छैनन्। बाह्य सुधारले नागरिकको मर्म स्पर्श गर्न सकेको देखिँदैन समग्रमा मूल्य घटेको देखिए पनि मध्यम तथा निम्न आय स्तर भएका वर्गहरूको लागि दैनिकी चलाउनुपर्ने क्षेत्रहरूमा भने मूल्य घटेको मान्न सकिने अवस्था बनेको छैन ।
खाद्य तथा पेय पर्दाथहरुको मूल्य सरकारले भनेको भन्दा धेरै माथि छ। यस्तै गैर खाद्यमा पनि मूल्य उस्तै आकासिएकै छ। सरकारले अर्थतन्त्रका बाह्य सूचकहरूको अवस्था राम्रो भएको सुनाउँछ, विदेशी मुद्राको सञ्चिति पनि राम्रै भएको व्याख्या गरेको छ। तर निकासी ६ प्रतिशत मात्रै छ भने पैठारी पनि ७ प्रतिशतले घटेको देखिन्छ । यो सोचनीय विषय हो ।
आर्थिक क्रियाकलापहरू सङ्कुचित भएका छन् । उपभोग र खर्च घटेको छ भन्ने देखिन्छ। देशको आर्थिक वृद्धिदर सरकारले भनेको भन्दा २–३ प्रतिशतले नै कम छ । हामीलाई चाहिएको आर्थिक वृद्धिदरको आधासम्म पनि हामी पुगेका छैनौ। मध्यम आय स्तर भएको देशहरूको सुचीमा पुग्न र दिगो विकासको लक्ष्यहरू हासिल गर्नको लागि २०३० सम्मा ८ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर पुग्नुपर्नेमा हामी औसतमा ४ प्रतिशतमा मात्रै पुगेका छौ।
सरकारले बजेट बढाउँछ तर पुँजीगत खर्च बढाउन सकेको छैन। नेपालका प्राय सबै बैंकहरु १ सय जति घरानाहरूले कब्जामा लिएका छन् । र आफू अनुकूल सञ्चालन गर्ने गर्दछन् । आफ्नो स्वार्थ अनुसार सरकार दबाब र प्रभावमा पार्ने गरेको देखिँदै आएको छ । बैंकको ब्याजदर पनि आफू अनुकूल घटाउँछन् । जसका कारण निक्षेपको ब्याज घट्न गएको छ। यसबाट नाफा कमाउँछन्। तर लगानी गर्दैनन् ।
देशमा उपलब्ध रोजगारदाता र जनशक्तिको बिचमा तालमेल मिल्न सकेको छैन। ऊर्जाशील युवा जनशक्ति विदेश पलायन भएको छ । गाउँका जमिनहरू बाझा भएका छन् । सरकारले उत्पादनशील क्षेत्रमा बजेट लगानी गर्न सकेको छैन यसकारण पनी देशको अर्थतन्त्र खुम्चिँदै गएको छ ।
सरकार कहाँनेर चुकेको देख्नुहुन्छ ?
सरकारका नीति नै कमजोर छन्। नीति निमार्णमै सरकार चुकेको छ । सरकार केही समूहसँग प्रभावित भएको देखिन्छ । संसदमै स्वार्थ बाझिएका व्यक्तिहरू छन् । बिचौलियाहरूको बिगबिगी छ। वित्तीय अनुशासन कायम हुन सकेको छैन । मूलतः संविधान बनाउँदै सरकार चुकेको देखिन्छ । आर्थिक हिसाबले धेरै खर्च माग्ने तर आम्दानी नदिने खालको संविधान निर्माण भएको छ ।
अर्थतन्त्र लयमा ल्याउन सरकारले के गर्नुपर्थ्यो ?
वास्तवमा ३ तहकै सरकारको आकार भद्दा देखिन्छ। सरकारको संरचना, तथा संविधानमै सुधार आवश्यक देखिन्छ । सरकार चुस्त दुरुस्त र छरितो हुनु आवश्यक छ । सरकारले आफ्नो नियतमा व्यापक सुधार गर्न जरुरी देखिन्छ ।
पारदर्शितासँगै फजुल खर्चमा मितव्ययिता कायम गर्न जरुरी छ । विदेश जाँदा अनावश्यक मान्छे लिएर जानु भएन । नेपालमै भएका गाडीहरू थन्केर बसिरहँदा कर्मचारीहरूले नयाँ गाडी किनेर चढ्ने प्रवृत्ति कम गर्नुपर्यो ।
लगानी बढाउने वातावरण सरकारले तयार गर्नुपर्छ । यस्तै प्रशासनिक झन्झटहरू कम गरी सहजै व्यवसाय गर्न सक्ने वातावरण सृजना हुनुपर्छ । यति गर्न सकिएको खण्डमा देशको अर्थतन्त्र लयमा आउन सक्छ ।







