काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०–०८१ को आयकर दाखिलाको म्याद थप गरेको छ । विभागले एक सूचना जारी गर्दै गर्दै करदातालाई पुस मसान्त भित्र आयकर दाखिला गर्न आग्रह गरेको हो ।
विभागले निजी क्षेत्रका विभिन्न व्यवसायिक र व्यापारिक छाता संगठनहरु तथा करदाताहरुबाट समेत आय विवरण पेस गर्ने म्याद २०८१ पुस मसान्तसम्म कायम गरिदिन भनी अनुरोध आएकाले म्याद थप गरेको जनाएको छ । आयकर ऐनको दफा ९६ मा प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको ३ महिनाभित्र उक्त वर्षको आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नुपर्ने व्यवस्था छ ।
सोही ऐनको दफा ९८ मा दफा ९६ बमोजिम आय विवरण दाखिला गर्नुपर्ने व्यक्तिको आग्रहमा विभागले एकैपटक वा पटक–पटक गरी बढीमा ३ महिनासम्म म्याद थप गर्न सक्ने व्यवस्था छ ।
आन्तरिक राजस्व विभागले गत असोज ४ गते वार्षिक १ करोडसम्म कारोबार गर्ने एकलौटी फर्म र शून्य कारोबार भएका निकायको सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने व्यवस्था गरेको थियो । तर, वार्षिक २५ करोडसम्म कारोबार भएका निकाय र अन्य करदाताहरुका सम्बन्धमा मंसिर मसान्तसम्म मात्र म्याद थप हुनेछ ।
यस्तै, वार्षिक २५ करोडभन्दा बढीको कारोबार गर्ने करदाताहरूको सम्बन्धमा पुस २० गतेसम्म मात्र म्याद थप हुने सूचना विभागले जारी गरेको थियो ।
सोही सूचनाअनुसार म्याद थपको निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट परेको थियो । सोमबार न्यायाधीश हेमन्त रावलको एकल इजलासले आय विवरण दाखिला गर्ने आन्तरिक राजस्व विभागको गत असोजको सूचना कार्यान्वयन नगर्न आदेश दिएको थियो ।








