काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको सिईओमा अशोक कुमार खड्का पुनः नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले कम्पनीको सिईओ खड्कालाई थप कार्यकालको लागि स्वीकृती प्रदान गरेको हो ।

कम्पनी सञ्चालक समितिको बैठकले सीईओ खड्काको कार्यकाल थप्ने निर्णय गरी स्वीकृतिको लागि बीमा प्राधिकरणमा पेश गरेको थियो । २०७६ साउनमा सीईओमा नियुक्त भएका सीईओ खड्काको पहिलो कार्यकाल आगामी साउनको तेश्रो साता सकिँदै छ ।

चार वर्ष अवधिको पहिलो कार्यकालमा इन्स्योरेन्सलाई एक उचाईमा पुर्याउन सफल भएकोले सञ्चालक समितिले उनको कार्यकाल थप्ने निर्णय गरेको हो । नेकोले पछिल्लो समय निर्जीवन बीमा व्यवसायमा आक्रामक व्यवसाय विस्तार गरेको छ ।

नेकोमा आउनु अगाडि खड्का माछापुच्छ्रे बैंकमा थिए । महतो समुहले नेको इन्स्योरेन्सको सेयर खरिद गरेपछि उनी माछापुच्छ्रे छाडेर नेको पुगेका थिए ।

इन्स्योरेन्सको सीईओको कार्यभार सम्हाल्नु अघि खड्का नेको इन्स्योरेन्सको डेपुटी सीईओ थिए । वि.सं २०५० सालमा तत्कालिन इन्डोसिज बैंक, हालको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा असिस्टेन्टबाट बैंकिङ करियर शुरु गरेका खड्काले १२ वर्ष सोही बैंकमा काम गरेका थिए ।