काठमाडौं । एनएमबी बैंकको दाङ तुलसीपुरस्थित एक बैंकको शाखा कार्यालयमा चोरी गर्न पसेका युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– १८ दुधरासका २७ वर्षीय सन्तोष चौधरी प्रकाउ परेका हुन् । चौधरीलाई आज बिहान २ देखि ३ बजेको बिचमा तुलसीपुर उपमहानगरपालिका बिपी चोकस्थित एनएमबी बैंकबाट पक्राउ गरिएको तुलसीपुर प्रहरी इन्स्पेक्टर सूर्य राणा मगरले आर्थिक भ्वाइसलाई जानकारी दिएका छन् ।

इन्स्पेक्टर राणाको अनुसार बैंकको ताला फोडेर भित्र प्रवेश गरिसकेको अवस्थामा चौधरीलाई पक्राउ गरिएको हो। उनको साथबाट हथौडा, छिनो, ह्याक्सो लगायतका बैंकको लकर फोर्न प्रयोग हुने सामानहरू बरामद गरिएको छ।

साथै, चौधरीको साथबाट रा ५ प ९७९ नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त बैंकमा राति सुरक्षा गार्ड नभएको थाहा भएपछि युवक चोरि गर्न गएको प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको राणाले जानकारी दिएका छन् ।