काठमाडौं । चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा धितो पत्र बजार पुँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड कायम भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवको सो अवधिमा २१२०.६२ रहेको नेप्से सूचकाङ्क चालु आवको पुस मसान्तमा २५९४.१३ कायम भएको छ।
आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा ३ अर्ब ९१ करोड बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड, ३ करोड ९८ लाख बराबरको एफपीओ तथा ३ अर्ब ९६ करोड बराबरको अन्य सेयर गरी कुल १६ अर्ब ३३ करोड बराबरको थप धितो पत्र सूचीकृत भएको राष्ट्रबैंकले उल्लेख गरेको छ ।
समीक्षा अवधिसम्ममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ पुगेको छ। सूचीकृत कम्पनीहरूमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्।
त्यस्तै समीक्षा अवधिमा नेपाल धितो पत्र बोर्डले ८ अर्ब २४ करोड बराबरको हकप्रद सेयर, ८ अर्ब बराबरको म्युचुअल फण्ड, ४५ करोड बराबरको साधारण सेयर र १२ करोड बराबरको डिबेन्चर गरी कुल १६ अर्ब ८१ करोड बराबरको धितो पत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको पुँजीकरणको हिस्सा ५४.२ प्रतिशत रहेको छ । जलविद्युत कम्पनीको हिस्सा १६.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत र अन्य समूहका कम्पनीहरूको हिस्सा ८.५ प्रतिशत रहेको छ।