काठमाडौं । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थपिनेक्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण मार्फत रकम खिचिरहेको छ। जस अनुसार केन्द्रीय बैंकले आज माघ २७ गते बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको मार्फत आज उक्त रकम खिच्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।यो २१ दिने निक्षेप संकलन उपकरणको फागुन १८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।