काठमाडौं। । काठमाडौं बीमा अभिकर्ताको अनलाइन परिक्षा आवेदन आजदेखि पुन सुचारु भएको छ । यस अगाडि गत फागुण १३ गतेदेखि बन्द गरिएको अनलाईन परिक्षा पुन सुचारु गरिएको प्राधिकरणले जनाएको छ ।
नेपाल बीमा प्राधिकरणले आज फागुन २२ गतेबाट बीमा नियमावली २०८१ मा भएको अभिकर्ताको परीक्षा शुल्क तथा शैक्षिक योग्यताका लागि व्यवस्था भएअनुसार सिस्टम अपडेट गरेपछि अभिकर्ता दर्ता प्रणाली खुला भएको जनाएको हो। अब नयाँ अभिकर्ता बन्न चाहानेहरुले प्राधिकरणले अभिकर्ताको लागि सञ्चालनमा ल्याएको सिस्टम मार्फत अभिकर्ताको लागि दर्ता गर्न सक्नेछन् ।
यस अगाडि पुरानो नियामावली अनुसार ५०० रुपैयाँ शुल्क लिइन्थ्यो भने नयाँ नियामावली अनुसार अब २५ सय रुपैयाँ शुल्क तिर्नु पर्नेछ। सरकारले बीमा क्षेत्रको नियमन, व्यवस्थापन र पारदर्शिता बढाउने उद्देश्यले बीमा नियमावली, २०८१ लागू गरेको छ । बीमा नियामावलीले पुराना बीमा अभिकर्ताहरुका लागि बीमा नविकरण गर्न एसएलसी भए हुने र नयाँ अभिकर्ताका लागि प्लस टू अनिवार्य गरेको छ ।
बीमा अभिकर्ता बन्ने प्रक्रियालाई पनि थप व्यवस्थित बनाइएको छ । अब अभिकर्ता बन्न कम्तिमा १२ कक्षा उत्तीर्ण भएको हुनुपर्ने भएको छ । बीमा अभिकर्ताका लागि विशेष तालिम तथा परीक्षा अनिवार्य गरिएको छ । बीम दलाल तथा तेस्रो पक्ष सहजकर्ताका लागि इजाजतपत्र लिनुपर्ने व्यवस्था कायम गरिएको छ । प्राधिकरणले २०८० कार्तिक १७ गतेबाट जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा शुरू गरेको हो ।







