काठमाडौँ । खोटाङ जिल्लामा जन्मिएका बीमा अभिकर्ता सूर्य प्रसाद दाहाल हाल सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाका बासिन्दा हुन् । पछिल्ला आठ वर्षदेखि एमडीआरटीमा पर्न सफल दाहाल सुरुवाती दिनमा भने कपडा व्यवसायी थिए ।

२०५३ सालदेखि कपडा व्यवसायी बनेका उनले उक्त पेशालाई पनि निरन्तरता दिइरहेका छन् । उनी हाल पेशागत बीमा अभिकर्ता संघ नेपालको कोशी प्रदेशको अध्यक्ष पनि हुन् ।

कपडा व्यवसायमै रहेका बेला दाहालका जीवनमा केही यस्ता रोचक घटना आइपरे जसले उनलाई बीमा अभिकर्ता बन्नतर्फ प्रेरित गर्‍यो । आफू बीमा क्षेत्रमा लाग्नु पछाडिको मुख्य श्रेय भने दाहाल आफ्ना दाजु नारायण दाहाललाई दिन्छन् ।

कुरा विसं २०५८ साल तिरको हो । केही काम विशेषले उनी आफ्ना दाजुको घर पुगेका थिए । दाजुको घरको बैठक कोठामा बसिरहेका बेला उनको आँखा एउटा कदर पत्रमा पुगेर टक्क अडियो । कदर पत्रमा ठूला अक्षरमा लेखिएको थियो – “करोडपति सम्मान” । उनी एकैछिन छक्क परे । त्यो कस्तो खालको सम्मान रहेछ भन्ने उनलाई मनमनै लाग्यो । अनि उनले दाजुलाई त्यसबारे थप सोधे ।

त्यस बेला नेपाल लाइफ इन्स्योरेन्स भर्खरै स्थापना भएको थियो । सूर्य प्रसादका दाजु त्यसबेला नेपाल लाइफ इन्स्योरेन्ससँग आबद्ध भई बीमा अभिकर्ता पेशामा आबद्ध रहेछन् । त्यस बेला उनका दाजु नारायण दाहालले १ करोड रुपैयाँको एउटै बीमालेख बिक्री गरेका रहेछन् । त्यति बेला मात्र दाहाललाई यस्तो लाग्यो कि अरे यस्तो पनि व्यवसाय हुने रहेछ ?

२०५९ सालसम्म पनि उनी कपडा व्यवसायमै थिए । त्यही समयतिर उनको राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारी सुशील कुमार चौधरीसँग भेट भएछ । उनले बीमा अभिकर्ता बन्नुस् भनेर दाहाललाई सल्लाह दिएछन् । यति बेलासम्म पनि उनी बीमा व्यवसायमा लाग्न ढुक्क भइसकेका रहेनछन् । बैंक वा सहकारीमा पैसा जम्मा गर्दा पनि बचत नै हुन्छ, बीमा नै किन गर्नुपर्छ र भन्ने सोच उनमा थियो । वाणिज्य बैंकका ती पूर्व कर्मचारीले उनलाई बीमा व्यवसाय किन आवश्यक छ भनेर छर्लङ्ग पारिदिएछन् ।

चौधरीले सुरुमा दाहालकी श्रीमतीको कोडमा अभिकर्ता लाइसेन्स निकालिदिएछन् । त्यसको केही समयपछि दाहालले पनि बीमा गराएछन् । अनि २०६२ सालमा बीमा अभिकर्ताका रूपमा पेशालाई अघि बढाएका दाहालले त्यसपछि पछाडि फर्केर हेर्नुपरेको छैन ।

बीमा अभिकर्ता पेशाबाट कस्तो छ सन्तुष्टि ?

दाहाल बीमालाई अनिवार्य बचतका रूपमा परिभाषित गर्छन् । यो खालको बचतले एउटा व्यक्तिलाई मात्र नभएर उसको परिवार, नातागोता, आफन्त र समाजलाई पनि फाइदा गरिरहेको हुने उनको बुझाइ छ । तसर्थ बीमा अभिकर्ता पेशा अँगालेर आफूले निकै खुशी र सन्तुष्ट अनुभूति गर्ने गरेको उनी बताउँछन् । नेपालीहरूले गर्ने गरेको खर्चलाई न्यूनीकरण गर्न सहयोग गर्दै त्यसबाट भएको बचत उनीहरूकै जीवनको सुरक्षाका लागि उपयोग गराउन पाउनु एकदमै सुखद् अवसर भएको उनी मान्दछन् ।

बीमाले समाजलाई मात्र नभएर राष्ट्रलाई पनि सहयोग गरिराखेको उनी बताउँछन् । उनी भन्छन्, “राष्ट्रको पूँजी निर्माणमा बीमाले टेवा पुर्‍याइराखेको हुन्छ । विकासमा सहयोग गरिराखेको हुन्छ । बीमाले रोजगारी पनि सृजना गरिराखेको छ । बीमाले सम्पूर्ण अर्थतन्त्रको वृद्धि गर्नमै सहयोग गरेको हुन्छ ।” उनले निरन्तर रूपमा राष्ट्रिय सम्मान पनि प्राप्त गरेका छन् ।

नेपाल लाइफमै किन बीमा गर्ने ?

नेपाल लाइफ नै किन रोज्ने भन्ने प्रश्नमा दाहाल यसको सञ्जाल र संगठन राम्रो भएको दाबी गर्छन् । देशैभरिका १८६ वटा शाखाबाट ३३ लाख बीमितहरूलाई छिटो र छरितो रूपमा इन्सुरेन्सले सेवा दिइरहेको उनी सुनाउँछन् । यस्तै नेपाल लाइफमै अभिकर्ताको लाइसेन्स लिएका ६३ हजार जना अभिकर्ता रहेको पनि उनी सुनाउँछन् । इन्स्योरेन्सको संगठन पनि बलियो रहेको सूचनाको प्रवाह पनि राम्रो भएको उनको भनाइ छ ।

त्यसका अलावा इन्स्योरेन्सले नेपालीहरूको विभिन्न आवश्यकता अनुरूपका पोलिसी ल्याउने गरेकाले अन्य इन्स्योरेन्स कम्पनीका तुलनामा नेपाल लाइफ भिन्न रहेका उनी दाबी गर्छन् । त्यसका साथै नेपाल लाइफको बोनस दर पनि उच्च रहेका कारण बीमितहरूको छनौटमा पर्ने गरेको उनी बताउँछन् ।

युवा पुस्तालाई के सुझाव दिनुहुन्छ ?

नेपाली युवाहरूमा पछिल्लो दिन देशमा केही पनि अवसर छैन भन्ने खालको सोचको विकास भएको देख्दा आफूलाई नमज्जा लाग्ने गरेको उनको भनाइ छ । साथीहरूले अमेरिका, अष्ट्रेलिया र युरोपतिर घुमेको तस्बिर सामाजिक सञ्जालमा राखेको देखेर आफू पनि त्यतै जान पाए हुन्थ्यो भन्ने खालको सोच युवाहरूमा पलाएको भन्दै उनी ती युवाहरूलाई नेपालमै अवसर खोज्न आग्रह गर्छन् ।

“बीमा अभिकर्ता बन्नुहोस् । न्यूनतम कक्षा १२ उत्तीर्ण गरेका सबै नेपाली नागरिक बीमा अभिकर्ता बन्न पाइन्छ । यो पेशामा लागेर तपाईं पछुताउनु पर्दैन,” दाहाल अगाडि भन्छन्, “यो पेशा यस्तो पेशा हो जहाँ तपाईंले लगानीको लागि एक पैसा पनि आफ्नो खल्तीबाट राख्नुपर्दैन । शून्य लगानीमै तपाईंले करोडौँको आम्दानी र प्रतिफल पाइराख्नुभएको हुन्छ । अरूको दास बन्नुभन्दा आफ्नो मालिक आफैँ बन्नुस् ।”