काठमाडौँ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा पहिलो दिन नै ६१ करोड ७३ लाख ६२ हजार रुपैयाँ बरबरको आवेदन परेको छ ।

मंगलबार (फागुन २७ गते) साँझ ५ः५ बजेसम्ममा ४ लाख ९८ हजार १६१ जना सर्वसाधारण आवेदकहरूले ६१ लाख ७३ हजार ६२० कित्ताका लागि माथि उल्लेखित संख्या बराबरको आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले उल्लेख गरेको छ।

सर्वसाधारणका लागि ओम मेगाश्री फर्मास्युटिकल्सको आजबाट आइपीओ खुला

यो आवेदन मागभन्दा ४.१८ गुणा बढी हो। ओम मेगाश्री फर्मास्युटिकल्सले आजदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १४ लाख ७६ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यस आइपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । सर्वसाधारणले चैत ३ गतेसम्म आवेदन दिन सक्नेछन् । आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।