काठमाडौँ। आजदेखि काठमाडौँको विभिन्न स्थानमा एक हप्तासम्म दैनिक ५ घण्टा बिजुली काट्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् आपूर्ति अवरुद्ध हुने भएको हो ।
उक्त कार्यका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।आज (४ गते) कलंकी र बलम्बु फिडर अन्तर्गतको स्युचाटारदेखि कलंकीवरिपरिका क्षेत्रमा बिजुली जानेछ । त्यस्तै ५ गते बलम्बुवरिपरिको क्षेत्र, ६ गते रातोपुलदेखि गौशालासम्मको क्षेत्र, ७ गते गौशाला चोकदेखि पुरानो बानेश्वरसम्म र ८ गते बल्खु करिडोर तथा मैत्री नगरवरिपरिका क्षेत्रमा ५ घण्टा विद्युत् आपूर्ति बन्द रहनेछ ।
साथै, ९ गते पुनः गौशाला चोकदेखि पुरानो बानेश्वरसम्म, १० गते त्रिभुवन विश्वविद्यालय वपरिपरिका क्षेत्र र ११ गते सतुंगलदेखि बलम्बुसम्मका क्षेत्रमा पनि बिजुली काटिनेछ । साथै मौसम प्रतिकूल रहेमा विद्युत् आपूर्ति बन्द नहुने प्राधिकरणले उल्लेख गरेको छ ।







