काठमाडौं । मन्त्रिपरिषदको बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा पूर्व पत्रकार शरद ओझालाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको मन्त्रिपरिषदको बैठकले ओझा लाई बीमा ऐन २०७९ को दफा ८ को उपदफा (९क) बमोजिम आगामी चार बर्षको लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले अध्यक्ष पदका लागि शरद ओझा सहित ३ जनाको नाम सिफारिस गरेको थियो । सरकारले अध्यक्ष छनौट समितिले सिफारिस गरेका शरद ओझा, रामशरण पुडासैनी र दामोदर बसौला तीन जना मध्येबाट ओझालाई अध्यक्षमा नियुक्त गरेको हो ।

प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए। आज साँझ ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरण कै इतिहासमा सबैभन्दा कान्छो उमेरले जम्मा ३३ बर्षका ओझालाई नियुक्त गर्ने निर्णय गरेको हो।

अध्यक्ष बन्नका लागि बीमा, मौद्रिक, बैङ्किङ्ग, वाणिज्य शास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय कार्य अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख गरिएको थियो ।

साथै, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) ले तोके बमोजिम तीस वर्ष उमेर पूरा भई पैसठ्ठी वर्ष उमेर ननाघेको हुनुपर्ने कानुनी प्रावधान छ।

सरकारले गत पुस २६ गते सूचना प्रकाशित गर्दै बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन माग गरेको थियो । कूल १२ जनाको आवेदन परेकामा पाँच जनाको नाम सर्टलिष्टमा परेको थियो । पाँच जनाको सर्टलिष्टमा परेका पूर्व चिरञ्जीवी चापागाई, कमल प्रसाद रेग्मी, डा. दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझासँग प्रस्तुतिकरण लिई पाँच जना मध्येबाट तीन जनाको नाम छनौट गरेको थियो ।