काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनाको अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार यस्तो आँकडा देखिएको हो ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार, माघ महिनामा ७ अर्ब ४२ करोड रुपैयाँ बराबरको बोनस शेयर, ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर नेप्सेमा सूचिकृत भएको छ ।
त्यसैगरी, सोही अवधिमा ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य शेयर नेप्सेमा सूचीकृत भएको सार्वजनिक तथ्यांकमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार, समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २१ अर्ब ६७ करोड रुपैयाँ बराबरको धितो पत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको जनाएको छ ।
जस अनुसार, १० अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्ब ३० करोड रुपैयाँ बराबरको हकप्रद शेयर, १ अर्ब ३२ करोड रुपैयाँ बराबरको डिबेन्चर र ८५ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर निष्कासनको अनुमति दिएको हो । २०८१ माघ मसान्तसम्म नेप्सेमा सूचीकृत ८ अर्ब ६७ करोड शेयरको चुक्ता मूल्य ८५४ अर्ब ९१ करोड रुपैयाँ रहेका तथ्यांकमा उल्लेख छ ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितो पत्र बजार पुँजीकरणको हिस्सा ५३.३ प्रतिशत, जलविद्युत् १६.७ प्रतिशत, लगानी ७.६ प्रतिशत, व्यापारिक संस्था ५.४ प्रतिशत, उत्पादन तथा प्रशोधन ५.३ प्रतिशत, होटेलको २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.० प्रतिशत रहेको बैंकले उल्लेख गरेको छ ।
यो वर्षको माघ मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६८ पुगेको छ । गत वर्षको सोही अवधिमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २७१ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये १३० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेको तथ्यांकमा उल्लेख छ ।







