काठमाडौँ । सेयर बजारको गिरावटले आज पनि निरन्तरता पाएको छ ।मंगलबार नेप्से सूचक ४.९३ विन्दुले घटेर २६९३.३५ अंकमा आएको छ। यो सँगै शेयर बजार लगातार तेस्रो दिन ओरालो लागेको हो ।
आज ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । यस दिन ९ उपसूचक राताम्य भएका छन् भने ४ उपसूचकमा हरियाली आएको छ। आज ८६ कम्पनीको मूल्य बढेको छ भने १६० कम्पनीको घटेको छ। आज १३ मध्ये ४ वटा समूहका सूचक बढेका छन् ।
शेयर बजारको अस्थिरताका कारण आम लगानीकर्ता ‘वेट एन्ड वाच’ मुडमा रहेको देखिएको छ । पछिल्लो समय बजार सुस्त हुनुमा धेरैले गभर्नर नियुक्ति प्रकरणलाई जोडेर हेरेको पाइन्छ । सरकारले अहिलेसम्म केन्द्रीय बैंकको गभर्नर नियुक्ति गर्न सकेको छैन। अहिले सेयर बजारका लगानीकर्ताको ध्यान पनि त्यतैतिर मोडिएको छ ।
केन्द्रीय बैंकले लिने नीति तथा निर्णयले सेयर बजारमा पनि प्रत्यक्ष प्रभाव पर्ने भएकाले गभर्नर नियुक्तिको विषयलाई लगानीकर्ताले विशेष चासोका साथ हेरेका हुन् । बजारमैत्री गभर्नर आउँछन् कि आउँदैनन् भन्ने विषय निकै महत्त्वपूर्ण बनेको छ । यही कारण पनि लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेको अनुमान गर्न सकिन्छ ।
साथै, विकसित राजनीतिक घटनाक्रमले पनि सेयर बजारलाई केही प्रभावित बनाएको जानकारहरूको भनाई छ । राजावादी सङ्गठनहरूले सडक आन्दोलन गरिरहेका छन् । यसले पनि कतिपय लगानीकर्ता केही पर्खिने मुडमा रहेको देखिन्छ । यद्यपि, यस्ता राजनीतिक घटनाहरूको प्रभाव भने अल्पकालीन मात्र हुने अनुमान गर्न सकिन्छ ।
ब्याजदर निरन्तर घटिरहेको अवस्थामा पनि सेयर बजारले गति लिन नसक्दा आम लगानीकर्ता अन्योलमा परेका हुन् । यसअघि चैत मसान्तको दबाब सकिएसँगै नेप्सेले गति लिनेमा धेरै लगानीकर्ता आशावादी देखिएका थिए ।
बैंक ब्याजदर न्यून विन्दुमा झरिसकेको छ । प्रणालीमा अधिक तरलताको अवस्था छ । यस्तो बेला पनि सेयर बजारले किन गति लिन सकेन भनेर आम लगानीकर्ताहरूले एक आपसमा प्रश्न गरिरहेका छन् । त्यसो त यति बेला सेयर बजार सुधारका लागि धेरै कुराहरूले सपोर्ट गरिरहेको देखिन्छ ।
लामो समयदेखि नेप्से सूचक २५ सयदेखि २८ सयबिचमा घुमिरहेको देखिन्छ । अर्थात्, करिब ३ सय अंकलाई आधार बनाएर नेप्से तलमाथि गरिरहेको अवस्था छ । समग्रमा नेप्सेले माथिल्ला विन्दुहरू तय गर्ने प्रयत्न गरिरहेको देखिन्छ । तर अहिलेसम्म नयाँ उचाइ तय गरिसकेको अवस्था भने छैन ।
आज ४४ करोड ६० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन पावर पाटर्नर र हिमालयन रिइन्सुरेन्स परेका छन् ।