काठमाडौँ । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा.विश्व पौडेलको नियुक्ति बदर गर्न माग सहित पुनः सर्वोच्च अदालतमा निवेदन पेस भएको छ।
अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलको नियुक्तिविरुद्ध आज सर्वोच्च अदालतमा निवेदन पेश गरेका छन् । उनीहरूको रिट सर्वोच्चमा आइपुगेको तर दर्ता भई नसकेको सर्वोच्च अदालतका सह रजिस्ट्रार
अच्युत कुइँकेलले आर्थिक भ्वाइसलाई जानकारी दिएका छन् ।
सिफारिस समितिकै पदाधिकारीले राजीनामा गरी आफैँ छनोट हुने गरी नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको पौडेलको सिफारिस, नियुक्ति तथा शपथको निर्णय बदर गर्नुपर्ने रिटमा माग गरिएको कुइँकेलको भनाइ छ ।
त्यस्तै, मुद्दाको टुङ्गो नलागुन्जेलसम्म गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्न÷नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ। अदालतमा निवेदन पेस भएको तर त्यस विषयमा थप अध्ययन भइरहेको सह रजिस्ट्रार कुइँकेलको भनाई छ ।
पौडेल नेपाली कांग्रेसको महासमिति सदस्य तथा प्रतिनिधिसभाको निर्वाचनमा पराजित उम्मेदवार रहेको र गभर्नर सिफारिस समितिका पदाधिकारी भई राजीनामा गरेको रिट निवेदन भनिएको छ ।







