काठमाडौँ – नेपाल राष्ट्र बैंकको १८ औ गभर्नरमा कांग्रेस निकट अर्थशास्त्री डा.विश्व पौडेल नियुक्त भएका छन् । उनी परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा निकट मानिन्छन्। उनी देउवा प्रधानमन्त्री हुँदा २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा समेत नियुक्त भएका  थिए ।

चीनबाट इन्जिनियरिङमा स्नातक गरेका पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् । त्यस्तै, अमेरिकाकै विश्वविद्यालय युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि समेत गरेका छन्।

डा.पौडेल चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट गत ०७९ को चुनावमा नेपाली कांग्रेसको उम्मेदवार बनेका थिए। कांग्रेसले चितवन १ मा हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट संसद् रहेका पूर्व कांग्रेस निकट अर्थशास्त्री स्वर्णिम वाग्लेलाई टिकट नदिएर पौडेललाई अगाडि सारेको थियो। डा.पौडेल चुनावमा रास्वपाका नव नेता हरि ढकालसँग पराजित बनेका थिए।

चुनाव हारेपछि डा पौडेल पुनः जनतासँग जोडिएर काम गर्ने इच्छा पार्टीमा व्यक्त गरेका थिए। तर तत्कालका लागि त्यस्तो परिस्थिति नबनेपछि उनी काठमाडौँ विश्वविद्यालयमा प्राध्यापन गर्न सुरु गरेका थिए । दलमा आबद्ध व्यक्ति काठमाडौँ विश्वविद्यालयको प्राध्यापक बन्न नपाउने भएपछि पौडेलले कांग्रेसको सदस्यता त्यागेर प्राध्यापनमा लागेका थिए।

यस्तै, युलेन्स स्कुलको ‘ट्रस्टी’ समेत रहेका डा.पौडेल नेपाली कांग्रेसको टिकट लिएर चितवनबाट चुनाव समेत लडेका थिए । गभर्नर सिफारिस समितिमा सदस्यको भूमिकामा रहेका डा.पौडेलले गभर्नर बन्ने पक्कापक्की भएपछि सो पदबाट राजीनामा दिएका थिए ।

पौडेलको शैक्षिक शैक्षिक पृष्ठभूमि 

डा.पौडेलले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। त्यसअघि उनले अमेरिकामै अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका थिए।

उनले चीनको शाङ्हाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन समेत गरेका छन्। डा.पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता हुन्। उनी नेपालको आर्थिक इतिहासका गहिरा जानकार पनि मानिन्छन्, विशेष गरी प्रसिद्ध इतिहासकार स्व। महेशचन्द्र रेग्मीको अध्ययन तथा लेखनमा उनको विशेष रुचि र जानकारी छ।

उनले लेखेका अर्थशास्त्र तथा इतिहाससम्बन्धी लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्। उनी साहित्यप्रेमी पनि हुन् र उनका विभिन्न साहित्यिक रचनाहरू समेत प्रकाशित छन्।

पौडेलले के काम गरे ?

उनी २०१२ देखि २०१३ सम्म सानिमा बैंकको डिरेक्टरको रूपमा काम गरेका थिए। त्यसपछि विश्व बैंकको कन्सल्ट्यान्ट, अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयमा र मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा कार्य गरिसकेका छन्।

त्यस्तै, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) मा आर्थिक सल्लाहकार र मिलेनियम च्यालेन्ज कर्पोरेशनमा अर्थशास्त्रीको रूपमा पनि अनुभव समेत संगालेका  पौडmे यसबाहेक, काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा प्राध्यापकको रूपमा पनि काम गरेको अनुभव छ भने अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारका रुपमा कार्यानुभव समेत छ ।

कोलम्बो योजना परिषद्का अध्यक्ष तथा एशिया र प्रशान्त क्षेत्रको क्षेत्रीय आर्थिक सहयोग तथा एकीकरणका अध्यक्षका रूपमा पनि काम गरिसकेका पौडेल कुनै समय नेपाल उद्योग परिसंघको प्रमुख आर्थिक सल्लाहकारमा समेत थिए । नेपाल राष्ट्र बैंकको गभर्नरको भूमिकामा जाने चर्चामा रहेका उनले सानिमा बैंक र सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीको सञ्चालक समितिका सदस्यका रुपमा समेत काम गरिसकेका छन् ।