काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको नाफामा फराकिलो अन्तरले सुधार आएको छ। कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा झण्डै ४ करोड नजिक पुगेको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरणमा उल्लेख छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.९४ प्रतिशत बढी हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत् बिक्री आम्दानी सामान्य बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा बढ्न पुगेको हो।
कम्पनीको विद्युत् बिक्री आम्दानीबाट १.५१ प्रतिशत र सञ्चालन मुनाफामा ४.४१ प्रतिशतले बढेको छ। कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा २५.२५ प्रतिशत बढेको छ भने वित्तीय खर्च १८.६५ प्रतिशत घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९० पैसा बढेर ६ रुपैयाँ १७ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९७.६३ गुणा रहेको छ।







