काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जनआकांक्षा र जनभावनालाई मार्गदर्शन मान्दै संक्रमणकालीन यात्रालाई दृढ संकल्पका साथ अघि बढाउने प्रतिबद्धता जनाएकी छन् । संविधान दिवसको अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले विभिन्न जनआन्दोलन र संघर्षको मर्म आत्मसात् गर्दै सरकारले जिम्मेवारीपूर्वक काम गर्ने धारणा राखेकी हुन् ।
प्रधानमन्त्री कार्कीले नेपालको संविधान पटक–पटकका जनआन्दोलन, संघर्ष र बलिदानको फलस्वरूप बनेको भएकाले यसलाई नेपाल र नेपालीको भाग्य–भविष्य निर्धारण गर्ने मार्गदर्शक दस्तावेजको रूपमा व्याख्या गरिन् । संविधान दिवस केवल उत्सव मात्रै नभई संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि र कार्यान्वयन यात्राको मूल्यांकन गर्ने दिन भएको उल्लेख गर्दै उनले संविधानले देखाएको बाटोमा उपलब्धि र कमजोरी दुवैको समीक्षासहित सुधारको बाटोमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन् ।
उनले संविधानका अक्षर अस्थिर भए पनि यसको भावना र प्राण सधैं जीवन्त रहने बताइन् । “जनताको भावना र अपेक्षा संविधानका अक्षरभन्दा अझ व्यापक र गतिशील हुन्छन्,” प्रधानमन्त्री कार्कीले भनिन्, “जनताका आवाज नै लोकतन्त्रको आत्मा हो, यसलाई बेवास्ता गर्न सकिन्न।”
पारदर्शिता, सुशासन र सुधारमा जोड
प्रधानमन्त्री कार्कीले सरकारका नीति–कार्यक्रममा पारदर्शिता, कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र दिगो विकासलाई सबै पुस्ताका साझा एजेन्डा तथा राष्ट्रिय प्राथमिकताका रूपमा प्रस्तुत गरिन् । उनले कमीकमजोरीको आत्मालोचना गर्दै निरन्तर सुधारतर्फ अघि बढ्नुपर्नेमा जोड दिइन् ।
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन, संस्थागत पुनर्संरचना गर्न र कानुनमा आवश्यक परिमार्जन ल्याएर जनताको अपेक्षा पूरा गर्ने दिशामा सरकार सक्रिय हुने उनको भनाइ थियो ।
संक्रमणकालीन जिम्मेवारी
पदप्रेम नभई देश संकटमा परेका बेला युवा पुस्ताको आग्रहअनुसार नेतृत्व सम्हाल्न बाध्य भएको बताउँदै प्रधानमन्त्री कार्कीले संक्रमणकालीन व्यवस्थापन आफ्नो प्राथमिक जिम्मेवारी रहेको प्रष्ट पारिन् । संविधानअनुसार ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचनमार्फत जनप्रतिनिधि सरकारलाई सत्ता हस्तान्तरण गरिने उनको भनाइ थियो ।
पुनर्निर्माण र आर्थिक चुनौती
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना र व्यवसायिक प्रतिष्ठानलाई पुनःनिर्माण र पुनर्जीवन दिनुपर्ने चुनौती रहेको उल्लेख गर्दै उनले सबै पक्षलाई सहकार्यका लागि आह्वान गरिन् । प्रधानमन्त्री कार्कीले लोकतान्त्रिक मूल्य–मान्यता, कानुनी राज्य र सुशासनमा खरो उत्रिन नसक्दा वर्तमान अवस्था आएको उल्लेख गर्दै अब सरकार जनआकांक्षा अनुसार कदम चाल्न दृढ रहेको दोहोर्याइन् ।







