काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सिफारिस भएका वैज्ञानिक महावीर पुन ले आफूलाई ‘मन्त्री’ भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पुनको नाम मन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेपछि उनले यस्तो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत पहिलो घोषणा गर्दै लेखेका छन्, “मलाई मन्त्री नभन्नुहोला । कसैलाई मन्त्री भन्न साह्रै रहर छ भने कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।”

उनले आफूलाई फोन गरेर बधाई दिनु वा खादा–माला लिएर नआउन पनि अपिल गरेका छन् । बरु शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा पाँच महिनाको कार्यकालमा गर्न सकिने ठोस काम र आइडिया भए ह्वाट्स एपमार्फत सेयर गर्न आग्रह गरेका छन् ।