काठमाडौँ। जेनजी आन्दोलनका कारण निजी क्षेत्रले ठूलो आर्थिक क्षति व्यहोरेको छ। नेपाल आर्थिक पत्रकार संघले मंगलबार आयोजना गरेको “अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो” विषयक छलफल कार्यक्रममा उद्योगीहरूले आन्दोलनले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ५ प्रतिशत असर गरेको बताएका छन्।

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेका अनुसार, निजी तथा सार्वजनिक संरचना ध्वस्त हुँदा लगानीकर्ताको मनोबल घटेको छ। उनले भने, “लगानीको सुरक्षा महत्वपूर्ण छ। सरकारले छिट्टै वित्तीय र मौद्रिक नीतिबाट सुविधा दिएर उद्योगलाई माथि उठाउन आवश्यक छ।” पाण्डेले अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर ठूलो उद्योगलाई सहुलियत दिनुपर्ने र कानुन सुधार आवश्यक रहेको बताएका छन्।

उनका अनुसार शिक्षा, उर्जा, पर्यटन, कृषि लगायत प्राथमिकताका क्षेत्रहरूमा लगानी बढाउनुपर्नेछ। केही ज्वाइन्ट भेन्चरको लगानी पनि आन्दोलनका कारण रोकिएको उनले जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आन्दोलनपछि निजी र सार्वजनिक संरचनामा क्षति पुगेकाले अर्थतन्त्रमा ठूलो धक्का पुगेको बताए। “सरकारले लगानीकर्तालाई सुरक्षा र प्रोत्साहनको ग्यारेन्टी दिनुपर्छ, नभए फेरि यस्तै विध्वंस भयो भने के गर्ने?” उनले प्रश्न उठाए।

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले पनि जेनजी आन्दोलनपछि सुरक्षा चुनौती बढेको र सरकारले व्यवसायीलाई डर नदिनु पर्ने बताए। उनले युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर दिनुपर्ने र स्टार्टअप तथा आईटी/एआई क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिए। पर्यटन क्षेत्रको पुनरुत्थानका लागि तत्कालै नेपाल सुरक्षित रहेको विश्वव्यापी प्रचार गर्नुपर्ने उनले जोड दिए।

मल्लले औपचारिक कारोबारलाई बढाउने, अनावश्यक खर्च घटाउने र निजी क्षेत्रको क्षति हुँदा देश ५–६ वर्ष पछाडि धकेलिने खतरा रहेको बताएका छन्।