काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। जस अनुसार कम्पनीले ३ महिनामा १५ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो वर्षको समान अवधिको १४ करोड ५० लाख रुपैयाँको तुलनामा ९.१७ प्रतिशतले वृद्धि भएको हो।
समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा २७ करोड ८६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८६ करोड २६ लाख रुपैयाँ र अन्य इक्विटीमा २० करोड ५३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म क्रमशः २६ करोड २८ लाख, ७२ करोड १७ लाख र २३ करोड २ लाख रुपैयाँ रहेको थियो।
आइएमई लाइफको जीवन बीमा कोष १४ अर्ब १८ करोड ६२ लाख रुपैयाँमा पुगेको छ, जुन अघिल्लो वर्षको १० अर्ब ७ करोड ४२ लाखको तुलनामा ४०.८२ प्रतिशतले वृद्धि भएको हो। कम्पनीले पहिलो त्रैमासमा १ अर्ब ५९ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, अघिल्लो वर्षको १ अर्ब २१ करोड ४२ लाख रुपैयाँको तुलनामा ३०.९९ प्रतिशत वृद्धि भएको हो ।
खुद बीमाशुल्क समेत १ अर्ब ५३ करोड ६३ लाख रुपैयाँ पुगेको छ, जसले अघिल्लो वर्षको १ अर्ब १६ करोड ४२ लाख रुपैयाँको तुलनामा ३१.९६ प्रतिशत वृद्धिलाई दर्शाउँछ। कम्पनीको शेयरपुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १२.६७ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्षको ११.६० रुपैयाँभन्दा बढी हो। पीई रेसियो ३३.५६ गुणा र प्रतिशेयर नेटवर्थ १३७.४१ रुपैयाँ रहेको छ।







