काठमाडौँ । पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई) प्रणालीहरूको तीव्र विकाससँगै डेटा सेन्टरमा हुने पानी प्रयोगबारे व्यापक चर्चा हुने गरेको छ। डेटा सेन्टर चिस्याउन ठूलो मात्रामा पानी प्रयोग हुने गरेको तथ्य बाहिरिएसँगै एआईले गर्ने जलविनास र त्यसको नियन्त्रणको विकल्पका विषयमा बहस हुन थालेको हो।
एआई प्रविधिको पछाडि ठूला डेटा सेन्टरहरू हुन्छन्, जहाँ हजारौँ सर्भरहरू दिन–रात चलिरहन्छन्। यी सर्भरहरूले काम गर्दा स्वभाविक रूपमा धेरै ताप उत्पनन हुन्छ जसलाई नियन्त्रण गर्न ठूलो मात्रामा पानी प्रयोग हुने गरेको छ ।
च्याटजीपीटीले एउटा प्रश्नको जवाफ दिन कति पानी खर्च गर्छ ?
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानका अनुसार, च्याटजीपीटी जस्ता एआई मोडलहरूले एक प्रश्नको उत्तर दिन करिब एक चम्चाको पन्ध्रौं भाग जति पानी खर्चने गरेका छन्। यो पानी मुख्यतया डेटा केन्द्रका सर्भर चिस्याउने काममा प्रयोग हुन्छ।
पानीको वास्तविक मात्रा सानो देखिए पनि, कृत्रिम बौद्धिक एआई प्रणालीहरू र ती सञ्चालन गर्ने डेटा केन्द्रहरूको समग्र पानी खपत ठूलो छ। हामीलाई आफूले एआई च्याटबोटमा गर्ने एउटा प्रश्न सानो लाग्न सक्छ । तर यसको असर भने थुप्रिँदै जान्छ । जब करोडौँ मानिसहरूले दैनिक रूपमा यसैगरी एआई टुलहरू प्रयोग गर्छन् तब पानी खपतको स–सानो हिस्सा जोडिँदै अरबौँ लिटरमा पुग्छ ।
एक बर्षमा ७०० अर्ब लिटर पानी पिउँछन् एआई
ठूला प्रविधि कम्पनीहरूले आफ्नो वार्षिक पानी प्रयोग सार्वजनिक गरिसकेका छन्। उदाहरणका लागि, गुगल, माइक्रोसफ्ट र मेटा जस्ता कम्पनीहरूले अर्बौँ लिटर पानी स्थानीय स्रोतबाट प्रयोग गरेका छन्। तर, यी मध्ये कति मात्र कृत्रिम बौद्धिक क्षमता प्रणाली सञ्चालनमा खर्च भयो भन्ने तथ्य खुलाइएको छैन।
यद्यपी एक अनुसन्धान अनुसार हाल एआई सम्बन्धित सिस्टमहरूले एक वर्षमा ३०० देखि ७०० अर्ब लिटर पानी खपत गर्छन् । यो मात्रा संसारभर एक वर्षमा विक्री हुने बोतलबन्द पानीभन्दा पनि बढी हो । अर्थात् मानिसहरूले किनेर पिउने पानीभन्दा बढी पानी एआईका मेसिनहरूले चुपचापरूपमा रित्याइरहेका हुन्छन् ।
बैंकमा तरलता फालाफाल : कर्जाको माग सुस्त, लगानीकर्तामा छैन आत्मविश्वास
प्रविधि विशेषज्ञहरूले भने कृत्रिम बौद्धिक क्षमता उद्योगमा पानी र ऊर्जा खपत दुवै बढ्दै गएको र यसको दीर्घकालीन असर जलस्रोत र वातावरणमा पर्न सक्ने चेतावनी दिँदै आइरहेका छन्।
विकल्प खोज्दै एआई कम्पनीहरु
एनटीटी डेटाका प्रमुख कार्यकारी अधिकृत अभिजित दुबेका अनुसार, भविष्यमा डेटा केन्द्रलाई अझ प्रभावकारी तरिकाले चिसो पार्न समुद्र, आर्कटिक क्षेत्र वा विशेष सेटअपहरूमा स्थापना गर्ने प्रयोगहरू सुरु भइसकेका छन्। उनका अनुसार, यसले ऊर्जा र पानी खपत दुवै घटाउने सम्भावना राख्छ।
युनिसेफ अफिस अफ इनोभेसनका विश्वव्यापी निर्देशक थानस डेविन भन्छन्, “कृत्रिम बौद्धिक क्षमता प्रविधि तीव्र गतिमा विकास भए पनि यसको प्रभावकारी र दिगो प्रयोगका उपायहरू अझै परिपक्व भइसकेका छैनन्। हामीले सीमित स्रोत जस्तै पानी र ऊर्जा प्रयोगमा विवेकपूर्ण निर्णय लिन सिक्न आवश्यक छ।”
मौद्रिक प्रणालीलाई नै चुनौती दिने क्रिप्टोकरेन्सी के हो ? यसले कसरी काम गर्छ ?
एकातर्फ कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विकासले हाम्रो जीवनलाई सहज बनाइरहेको छ भने अर्कोतर्फ यसले ठूलो मात्रामा पानी र ऊर्जा खपत गरिरहेको छ। डेटा सेन्टरमा सर्भर चिस्याउन प्रयोग हुने पानीको मात्रा दैनिक रूपमा स–सानो देखिए पनि, जब अर्बौँ प्रयोगकर्ताले एआई सेवा प्रयोग गर्छन्, तब यसको समग्र प्रभाव अरबौँ लिटर पानीमा पुग्छ। यसले दीर्घकालीन रूपमा जलस्रोत र वातावरणमा दबाब पार्ने सम्भावना राख्दछ।
यद्यपि प्रविधि कम्पनीहरूले ऊर्जा र पानी खपत घटाउने नवप्रविधि र विकल्पहरूको खोजी गरिरहेका छन्, त्यसलाई अझ प्रभावकारी र दिगो बनाउन समय र प्रतिबद्धता आवश्यक छ। भविष्यमा एआईको विस्तार दिगो र जिम्मेवार बनाउन, पारदर्शिता, योजना र विवेकपूर्ण स्रोत व्यवस्थापन अनिवार्य छ। तब मात्र एआईको विकास र पृथ्वीका सीमित स्रोतबीच सन्तुलन कायम गर्न सकिने सम्भावना देखिन्छ।







