काठमाडौं । नेपालमा विकास भएन भन्ने नकारात्मकता चौतर्फी रूपमा फैलिरहेको बेला विभिन्न आर्थिक तथा सामाजिक सूचकहरूले भने देशमा प्रगति भइरहेको संकेत गरेका छन् ।
देशमा प्रजातन्त्र स्थापना भएपछि बितेका साढे तीन दशकमा देशका आर्थिक तथा सामाजिक सूचकहरूमा उल्लेखनीय सुधार भएको देखिएको छ ।
वि.स. २०४७ सालको तुलनामा २०८२ सालसम्म आइपुग्दा ऊर्जा, पूर्वाधार, मानव विकास, वित्तीय पहुँच तथा जीवनस्तरका अधिकांश सूचकहरूमा सकारात्मक प्रगति भएको तथ्याङ्कले देखाउँछ ।
विद्युत् उत्पादनमा ऐतिहासिक फड्को
२०४७ सालमा ५०० मेगावाटमा सीमित रहेको विद्युत् उत्पादन क्षमता हाल करिब ३,५०० मेगावाट पुगेको छ । यसले औद्योगिक विकास र घरेलु उपभोग दुवैमा सहयोग पुर्याएको छ । हालको समयसम्म आइपुग्दा नेपालले भारत र बंगलादेशलाई समेत बिजुली निर्यात गरिरहेको अवस्था छ ।
प्रतिव्यक्ति आय, बजेट र जिडीपीमा उल्लेखनीय सुधार
आर्थिक रूपमा हेर्दा, प्रति व्यक्ति आय २०४७ सालमा १८५ अमेरिकी डलर मात्र रहेकोमा हाल करिब १,५०० अमेरिकी डलर पुगेको छ । राष्ट्रिय बजेट पनि २० अर्ब रुपैयाँबाट बढेर करिब २० खर्ब रुपैयाँ पुग्दै छ । कुल गार्हस्थ उत्पादन (जीडीपी) १०३ अर्ब रुपैयाँबाट ६,१०७ अर्ब रुपैयाँभन्दा बढी पुगेको देखिन्छ ।
मानव विकासका सूचकमा सकारात्मक परिवर्तन
मानव विकासका सूचकहरूमा समेत सुधार आएको छ । मानव विकास सूचकांक ०.३९५ बाट बढेर ०.६०१ पुगेको छ भने औसत आयु ५४.८३ वर्षबाट बढेर ७२.१९ वर्ष पुगेको छ । बाल मृत्युदर प्रतिहजार ९७ बाट घटेर १६ मा झरेको छ । साक्षरता दर ३९.६ प्रतिशतबाट बढेर ७६.२ प्रतिशत पुगेको छ ।
बितेका तीन दशकमा गरिबी न्यूनीकरणतर्फ पनि उल्लेखनीय प्रगति भएको छ । गरिबीको रेखामुनि रहेको जनसंख्या ४१.७६ प्रतिशतबाट घटेर २०.२७ प्रतिशतमा झरेको छ । +२ सम्म अध्ययन गरेका जनसंख्या २.८८ प्रतिशतबाट बढेर ४०.६० प्रतिशत पुगेको छ ।
सडक सञ्जाल र भौतिक पूर्वाधारमा विस्तार
सडक सञ्जाल ७,८९८ किलोमिटरबाट बढेर ३४,२७२ किलोमिटर पुगेको छ । उक्त तथ्याङ्कले देशको भौतिक पूर्वाधार विस्तारमा भएको प्रगतिको पनि उजागर गरेको छ ।
बैंकिङ तथा वित्तीय पहुँच विस्तार
वित्तीय क्षेत्रमा पनि उल्लेखनीय विस्तार भएको छ । बैंक तथा वित्तीय संस्थाका शाखा ४४१ बाट बढेर ११,५१६ पुगेका छन् । कुल निक्षेप रकम २२ अर्ब रुपैयाँबाट ६७ खर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५८ खर्ब रुपैयाँ नाघेको छ ।
यस्तै, सेयर बजार पूँजीकरण १३.८७ अर्ब रुपैयाँबाट बढेर करिब ४,९७० अर्ब रुपैयाँ पुगेको छ ।
पर्यटन क्षेत्रमा वार्षिक पर्यटक आगमन २.५४ लाखबाट बढेर १२ लाखभन्दा माथि पुगेको छ भने पाँचतारे होटलको संख्या २८ पुगेको छ । सवारी साधन संख्या पनि ७६ हजारबाट बढेर ५५ लाखभन्दा बढी पुगेको छ ।
प्रमुख आर्थिक सामाजिक सूचकहरुबीच तुलना :

समग्र तथ्याङ्क हेर्दा, पछिल्ला साढे तीन दशकमा नेपालले चुनौतीबीच पनि उल्लेखनीय रूपान्तरणको यात्रा तय गरेको स्पष्ट देखिन्छ । विकास भएन भन्ने निराशाजनक धारणा व्यापक रूपमा फैलिरहेकै बेला ऊर्जा, पूर्वाधार, मानव विकास, शिक्षा, स्वास्थ्य, वित्तीय पहुँच र जीवनस्तरका सूचकहरूले देश क्रमशः सही दिशामा अघि बढिरहेको संकेत गरेका छन् । लोकतान्त्रिक अभ्यास, नीतिगत सुधार र जनसहभागिताका कारण आर्थिक आकार विस्तार हुनुका साथै सामाजिक सूचकहरूमा पनि ठोस सुधार देखिएको छ ।
यद्यपि अझै गर्नुपर्ने काम धेरै बाँकी छन्, तर उपलब्ध तथ्यहरूले नेपालमा सम्भावना, क्षमता र प्रगतिशील आधार बलियो बन्दै गएको प्रमाणित गर्छन् । उपलब्धि र सीमाका बीच सन्तुलित दृष्टिकोण राख्दै सकारात्मक उपलब्धिलाई आत्मविश्वासको आधार बनाउने हो भने समावेशी, दिगो र तीव्र विकासको मार्गमा देशलाई अझ अगाडि बढाउन सकिने स्पष्ट सन्देश यी सूचकहरूले दिएका छन् ।








