काठमाडौं। यतिबेला नेपाली बजारमा सुनको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ। नेपाली बजारमा मात्र होइन, विश्व बजारमै सुनको मूल्य निरन्तर उकालो लागिरहेको देखिन्छ। एकपछि अर्को गर्दै सुनले नयाँ कीर्तिमान कायम गरेसँगै यसको मूल्यवृद्धिप्रति सुनचाँदी व्यवसायी, सरोकारवाला निकाय तथा उपभोक्ताको चासो बढेको छ।

हाल नेपाली बजारमा सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। एकैदिन प्रतितोला करिब १० हजार रुपैयाँसम्मको वृद्धि भएपछि उपभोक्तामात्र होइन, व्यवसायीहरू समेत अचम्मित भएका छन्। आर्थिक मन्दीको चाप कम हुन नपाउँदै सुनको मूल्य एकाएक बढ्नुले व्यवसायीहरू हर्षित हुनुभन्दा निराशर आश्चर्य मानिरहेका छन् ।

आखिर सुनको मूल्य यसरी तीव्र रूपमा किन बढिरहेको छ ? यसको पछाडिका अन्तर्राष्ट्रिय र आन्तरिक कारण के हुन् ? यही विषयमा आर्थिक भ्वाइसले नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीसँग कुराकानी गरेको छ। प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंशः

             सुन महँगिनुका प्रमुख कारण

 भू-राजनीतिक अनिश्चितता

हाल ग्रीनल्यान्ड सम्बन्धी विषयमा संयुक्त राज्य अमेरिका र नेटोबीच तनाव बढ्दै गएको छ। यसले विश्व वित्तीय बजारमा अन्योल सिर्जना गरेको छ। यस्तै, विश्व अर्थतन्त्रमा मन्दी, बैंकिङ संकट, युद्ध तथा भू–राजनीतिक तनाव बढ्दा लगानीकर्ताहरू जोखिमयुक्त सम्पत्तिबाट हटेर सुरक्षित लगानीतर्फ आकर्षित हुन्छन्। सुनलाई परम्परागत रूपमा Safe Haven Asset मानिने भएकाले यस्तो अवस्थामा यसको माग बढ्दै मूल्य आकासिन्छ।

अमेरिकी डलर कमजोर हुनु

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अमेरिकी डलरमा निर्धारण हुने भएकाले डलर कमजोर हुँदा अन्य मुद्रामा कारोबार गर्ने लगानीकर्ताका लागि सुन सस्तो पर्न जान्छ। यसले सुनको माग बढाउँछ र परिणामस्वरूप मूल्य उकालो लाग्छ।

ब्याजदर नीति र केन्द्रीय बैंकहरूको भूमिका

अमेरिकी फेडरल रिजर्भलगायत ठूला केन्द्रीय बैंकहरूले ब्याजदर घटाउँदा वा भविष्यमा घटाउने संकेत दिँदा सुनमा लगानी आकर्षक बन्छ। किनकि सुनमा ब्याज नआउने भएकाले ब्याजदर कम हुँदा सुन राख्ने अवसर लागत घट्छ।
यससँगै, धेरै देशका केन्द्रीय बैंकहरूले आफ्ना विदेशी मुद्रा सञ्चितिमा सुनको हिस्सा बढाइरहेका छन्, जसले अन्तर्राष्ट्रिय बजारमा सुनको माग र मूल्य थप बढाएको छ।

विश्वव्यापी रूपमा मुद्रास्फीति बढ्ने आशंका बढेसँगै सुनलाई मूल्य संरक्षण गर्ने साधन (Inflation Hedge) का रूपमा प्रयोग गर्ने प्रवृत्ति बढेको छ। यसले पनि सुनको मूल्यलाई थप चर्काएको छ।

युद्ध र क्षेत्रीय तनाव

रूस–युक्रेन युद्ध, मध्यपूर्वको अस्थिरता, चीन–ताइवान जस्ता संवेदनशील विषयले विश्व बजारमा अनिश्चितता बढाइरहेका छन्। यस्ता परिस्थितिमा लगानीकर्ताहरू सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित हुने भएकाले यसको मूल्य बढ्ने गर्छ।

नेपाली बजारमा सुनको मूल्यवृद्धिको प्रभाव

नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजार र अमेरिकी डलरको विनिमय दरसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्नासाथ नेपाली बजारमा पनि सुन महँगो हुन्छ, जसले दैनिक रूपमा नयाँ उच्च विन्दु कायम गर्ने अवस्था सिर्जना गरेको छ।

गहना व्यवसायमा दबाब

सुन महँगो हुँदा गहना खरिद खर्चिलो बन्छ। यसले विवाह तथा चाडपर्व बाहेकका समयमा सुनको माग घट्ने सम्भावना बढाउँछ। नेपालले ठूलो परिमाणमा सुन आयात गर्ने भएकाले मूल्य बढ्दा विदेशी मुद्रा खर्च पनि बढ्छ। यसले देशको व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमा दबाब सिर्जना गर्न सक्छ।

सुरक्षित लगानीका रूपमा आकर्षण

सेयर बजार र रियल स्टेट जस्ता अन्य लगानी विकल्प अस्थिर हुँदा नेपाली लगानीकर्ताहरू सुनलाई सुरक्षित लगानीको माध्यमका रूपमा हेर्न थाल्छन्। यसले दीर्घकालीन रूपमा सुनको मागलाई बलियो बनाइरहन्छ।

तथापि, पछिल्लो समय देखिएको सुनको तीव्र मूल्यवृद्धिले सुनचाँदी व्यवसाय नै संकटतर्फ धकेलिएको छ। हाल बजारमा नयाँ सुन खरिद गर्न आउने उपभोक्ताभन्दा आफूसँग भएको सुन बिक्री गर्न आउनेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। यसले गर्दा व्यवसायीहरू न त नयाँ सुन खरिद गर्न सक्ने अवस्थामा छन्, न त पहिले नै खरिद गरिसकेको सुन सहज रूपमा बिक्री गर्न सकिरहेका छन्।

मूल्य अस्थिरताका कारण बजार ठप्पजस्तै बनेको छ। यसको प्रत्यक्ष असर देशभर फैलिएका लाखौँ सुनचाँदी व्यवसायी र कालिगड माथि परेको छ। दैनिक ज्यालादारीमा काम गर्ने कालिगडहरू बेरोजगार बन्ने अवस्थामा पुगेका छन् भने साना तथा मध्यम व्यवसायीहरू पूँजी थन्क्याएर बस्न बाध्य छन्।

सुनचाँदी क्षेत्रले अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आए पनि राज्यले हालसम्म यस क्षेत्रमा देखिएको संकटप्रति गम्भीर ध्यान दिन सकेको छैन। आवश्यक नीतिगत सहजीकरण, कर तथा आयात व्यवस्थापनमा लचकता नअपनाउँदा सुनचाँदी व्यवसाय र यसमा संलग्न हजारौँ परिवारको जीविकोपार्जन नै धरापमा पर्ने जोखिम बढेको देखिन्छ । यो विषयमा महासंघले मात्रै चिन्ता गरेर पुग्दैन हामीलाई राज्यले अभिभावकीय भूमिका निर्वाह गरिदिन आवश्यक छ । यसैले, राज्यले तत्काल बजार स्थायित्व, व्यवसायी संरक्षण र कालीगढहरूको रोजगारी सुनिश्चित हुने खालका नीतिगत तथा संरचनात्मक पहल गर्नुपर्ने देखिन्छ ।