काठमाडौँ । विश्वका महान नेताहरू मध्येका एक, ब्रिटिश पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलले भनेका थिए, “सफलताको कहिले पनि अन्त्य हुदैन, असफलता घातक पनि होइन। महत्वपूर्ण कुरा भनेको अघि बढ्ने साहस हो।” यही विचार विराटनगरका युवा उद्यमी गणेश निरौलाको उद्यमशील यात्रासँग मेल खान्छ।

नेपालमा डिजिटल मार्केटिङ र ब्रान्डिङको क्षेत्रमा अग्रणी संस्था बनेको Brandwave का प्रमुख कार्यकारी अधिकृत (CEO) हुन् गणेश निरौला (अनुराग)।

विराटनगरमा उनले स्थापित गरेको ब्रान्डवेभले हाल देशभर विभिन्न साना ठूला व्यवसाय र कम्पनीहरुलाई डिजिटल मार्केटिङ सम्बन्धी सेवाहरु दिँदै आइरहेको छ। कोरोनाको समयमा सन् २०२० मा जब विश्वसँगै नेपाल पनि डिजिटल दुनियामा सक्रिय हुँदै थियो त्यही समय उनले ब्रान्डवेभको स्थापना गरेका थिए।

आज हामी एउटा सामान्य व्यवसाय कसरी सही मार्गदर्शन, नेतृत्व र व्यवसायिक तालिमबाट प्रभावित भई नेपालमै आफ्नो क्षेत्रमा अग्रणी संस्था बन्न सक्छ र सफलता प्राप्त गर्न सक्छ भन्ने विषयमा जानकारी लिने छौँ। साथै ब्रान्डवेभका CEO अनुरागको उद्यमी यात्रा, चुनौती र सिकाइका अनुभवहरुबारे पनि खुलासा गरेका छौँ।

यसरी सुरु भयो अनुरागको उद्यमी यात्रा

अनुरागको बचपनदेखि नै नयाँ आइडियाहरू सोच्ने रुचि थियो। स्कुल र कलेजका दिनहरूमा उनी साथीहरूलाई आफ्ना प्रोजेक्ट र साना व्यवसायिक योजनाहरू सुनाउने गर्थे। उनले सधैं नयाँ चुनौतीहरू स्वीकार्ने मनोवृत्ति राखेका थिए। डिजिटल प्रविधि र इन्टरनेटको बढ्दो पहुँचले उनलाई नयाँ अवसर खोज्न प्रेरित गर्यो। अन्तर्वार्ताको सुरुवातमै अनुरागले आर्थिक भ्वााइसलाई बताए ।

“मलाई सुरु देखि नै उद्यमी बन्ने मन थियो । मैले पहिले पनि केही स्टार्टअप सुरु गरेको थिए, जसमा म प्रयाप्त ज्ञान र अनुभवको अभावका कारण असफल हुन पुँगे तर मैले हार मानिन । त्यसपछि मलाई डिजिटल मार्केटिङको आवश्यकता महसुस भयो । सन् २०२० को कुरा हो, त्यो समयमा कोरोनाका कारण नेपाल पनि डिजिटल रूपमा सक्रिय भएको थियो। मैले त्यही समयमा ब्राण्डवेभको सुरुवात गरेको थिए।” उनले आफ्नो व्यवसायिक पृष्ठभुमि सम्झिदै भने ।

सुरुवातमा व्यवसाय सञ्चालन गर्दा फन्ड व्यवस्थापन, टिमवर्क र दीर्घकालीन योजना जस्ता विषयहरूमा उनलाई धेरै अनुभव थिएन । त्यसपछि कलेजका साथीहरूको प्रेरणाले उनलाई नबिल बैंकको एसएसई कार्यक्रममा सामेल हुन उनलाई प्रेरित गरे।

उनी भन्छन् “मेरो वरिपरिको वातावरण नै स्टार्टअप गर्ने साथीहरूको थियो। तीनै साथीहरूले मलाई एसएसई कार्यक्रममा सहभागी हुन भनेका थिए।”

ब्रान्डवेभले कसरी काम गर्छ ?

ब्रान्डवेभ नेपालमा व्यवसायहरूको डिजिटल उपस्थितिलाई सशक्त बनाउने काम गर्छ। कम्पनीले साना–ठूला व्यवसाय, शैक्षिक संस्था, र उपभोक्ता ब्रान्डहरूलाई वेब डेभलपमेन्ट, सामाजिक सञ्जाल प्रचार, गुगल र मेटा विज्ञापन र प्रभावशाली व्यक्तिहरू मार्फत प्रचार जस्ता सेवा प्रदान गर्दै आएको छ।

साथै, कम्पनीले व्यावसायिक ब्रान्ड रणनीति, फोटो–भिडियो छायांकन समेट्ने काम पनि गर्दै आएको छ जसले गर्दा विभिन्न व्यवसायहरूलाई अनलाइन र अफलाइन दुवै क्षेत्रमा प्रभावकारी रूपमा स्थापित हुन सहयोग पुगेको छ ।

निरौलाको नेतृत्वमा कम्पनीले उच्च गुणस्तरीय वेवसाइट , सफ्टवेयर , मेटा एड , गुगल एड, सोसल मिडिया मार्केटिंग, कन्टेन्ट क्रियसन लगायतका कार्यहरु गर्दै आइरहेको छ।

“हामी अहिले नेपाली व्यवसायहरूको डिजिटल रूपान्तरणको महत्वपूर्ण अंश बन्ने लक्ष्यमा अघि बढिरहेका छौं । ब्रान्डवेभ हाल ८/१० जनाको टिम सहित सञ्चालन भइरहेको छ। हामी High Quality Output दिन सक्ने टिमको रुपमा स्थापित भएका छौँ । व्यवसायलाई सुहाउँदो कन्टेन्ट उत्पादन गर्दै आइरहेका छौं। हाम्रो ऐजेन्सी पूर्ण सेवा दिने एजेंसी हो। डिजिटल मार्केटिङमा सामान्यतया वेबसाइट बनाउने र सीमित सफ्टवेयर सेवा मात्र उपलब्ध हुन्छ, तर हामीसँग कन्टेन्ट क्रियसन, ग्राफिक डिजाइन, मेटा एड्स र गुगल एड्स सबै सुविधा उपलब्ध छन्।”

कम्पनीले नेपालका विभिन्न कम्पनीहरुलाई सेवा दिँदै आएको छ। “हामीलाई मान्छेले Quality का लागि चिनोस् भन्ने उदेश्यले काम गरिरहेका छौं । हाल क्वालिटीमै केन्द्रित भएर अघि बढिरहेका छौं। यसैका लागि हामीले ब्रान्डवेभ भर्जन २.० (Brandwave2.0) पनि लन्च गरेका छौं।” अनुरागले भने ।

नबिल एसएसई कार्यक्रमले ब्राण्डवेभलाई कसरी मदत गर्यो ?

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गर्दै आएको ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनर्सिप (नबिल एसएसई) कार्यक्रममार्फत सामाजिक उद्यमशीलताको विकासमा योगदान पुर्याउदै आएको छ।

कार्यक्रमअन्तर्गत हाल ‘फेलोसिप’ र ‘सर्टिफिकेट’ गरी दुई किसिमका प्रशिक्षण सञ्चालनमा छन्। सन् २०२४ को डिसेम्बर तिर अनुरागले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए।

डिजिटल मार्केटिङ कम्पनी ब्राण्डवेभ लाई व्यवस्थित र दिगो रूपमा अघि बढाउन नबिल बैंकको नबिल एसएसइ कार्यक्रमले पनि महत्वपूर्ण भूमिका खेलेको ब्राण्डवेभका संस्थापक अनुराग बताउँछन्।

एसएसइ कार्यक्रममा सहभागितापछि उनले दीर्घकालीन व्यवसायिक योजना बनाउने तरिका, फन्ड व्यवस्थापन, सेवा मूल्य निर्धारण, कानुनी संरचना तथा प्यान/भ्याट सम्बन्धी व्यावहारिक ज्ञान हासिल गर्न पाए।

“सुरुवाती चरणका उद्यमीका लागि यी कुरा अत्यन्तै आवश्यक हुन्छन्, र एसएसइ कार्यक्रमले त्यही खालको स्पष्टता दिएको थियो। त्यसैले नबील बैंकको यो पहल मलाई धेरै मन परेको छ।” अनुराग भन्छन्।

अनुरागका अनुसार एसएसइ कार्यक्रमको सबैभन्दा ठूलो उपलब्धि भनेको सोचको परिवर्तन हो। “त्यहाँका तालिमहरूले मलाई कामलाई आफ्नै दृष्टिकोणबाट होइन, क्लाइन्टको नजरबाट हेर्न सिकाए । यही सोचले मेरा धेरै व्यावसायिक समस्याको समाधान गर्यो।” उनले बताए।

पछिल्लो समय अनुरागले डिजिटल मार्केटिङ सिकाउने वर्कशपहरू पनि सञ्चालन गर्न थालेका छन्। डिजिटल मार्केटिङ सिक्न चाहनेको संख्या बढ्दै गएपछि उनले विभिन्न स्कुल र कलेजमा लक्षित वर्कशपहरू सुरु गरेका हुन्।

ती वर्कशपहरूमा सहभागीहरूले सामाजिक सञ्जाल मार्केटिङ, व्यवसाय प्रवद्र्धन रणनीति र कानुनी संरचनाबारे आधारभूतदेखि व्यावहारिक ज्ञान प्राप्त गर्दै आएका छन्।

व्यवसायीक जीवनका चुनौती र समाधान खोज्ने माइन्डसेट

व्यवसाय सञ्चालनको क्रममा अटोमेशन र टिम व्यवस्थापन मुख्य चुनौती रहेको अनुरागको भनाइ छ। उनको लक्ष्य भनेको आफू नभए पनि टिमले उस्तै स्तरको काम गर्न सक्ने संरचना बनाउनु हो।

क्लाइन्ट–केन्द्रित मूल्य निर्धारण सुरुमा चुनौतीपूर्ण भए पनि, त्यसलाई आत्मसात् गर्दै अघि बढ्न सकेको उनले बताए।

“चुनौतीहरू त आइरहन्छन्, तर सही ज्ञान र सोच भए समाधान निकाल्दै अगाडि बढ्न सकिन्छ।” अनुराग भन्छन्। “मेरो उद्देश्य भनेको टिमले म नभए पनि उस्तै स्तरको काम गर्न सकोस् भन्ने हो । अर्को कुरा क्लाइन्टको नजरबाट मूल्य निर्धारण गर्नु पनि मेरा लागी ठूलो चुनौती थियो, तर उनीहरुको नजरबाट उनीहरुको आवश्यकता हेर्दै ती चुनौतीको पनि समाधान खोजे ।”

अनुरागको प्रेरणादायी सन्देश

अनुरागले आफ्ना अनुभव र संघर्षका आधारमा युवाहरूलाई सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे। उनका अनुसार नेपालमा अवसर छैन भन्ने मानसिकताले नै धेरै युवालाई अघि बढ्नबाट रोकिरहेको छ।

“हाम्रो सोच नकारात्मक भयो भने हामीले देख्ने हरेक बाटो बन्द जस्तो लाग्छ,” उनी भन्छन्, “तर सोच सकारात्मक बनाउने हो भने वरिपरिको वातावरणले नै हामीलाई सहयोग गर्न थाल्छ।”

अनुरागले अवसरहरू आफैं खोजेर होइन, प्रयास र निरन्तरताबाट सिर्जना हुने धारणा व्यक्त गरे। उनका अनुसार कामप्रति इमानदार प्रयास गर्नेहरूका लागि सही मानिस, सही नेटवर्क र सही अवसर क्रमशः जोडिँदै जान्छन्।

“सबै कुरा एकैचोटि हुँदैन, तर निरन्तर अघि बढिरहँदा एउटा बिन्दुमा पुगेर सबै कुरा ‘डटले कनेक्ट’ भएको जस्तो महसुस हुन्छ।” उनले भने।

उनले युवाहरूलाई सुरु गर्न नडराउन पनि आग्रह गरे। सुरु नगरी सफलताको अपेक्षा गर्न नसकिने बताउँदै उनले सिकाइलाई निरन्तर प्रक्रियाका रूपमा लिनुपर्ने उल्लेख गरे। “गल्ती नगरी सिकिँदैन, र सिक्नै नखोजी अगाडि बढ्न सकिँदैन,” अनुरागको भनाइ छ।

उनका अनुसार सानो कदमबाट सुरु गरिएको यात्रा नै दीर्घकालीन सफलताको आधार बन्न सक्छ । त्यसैले, अवसरको प्रतीक्षामा बस्नु भन्दा उपलब्ध स्रोत, सीप र ज्ञान प्रयोग गरेर आजैबाट केही न केही सुरु गर्न उनले युवाहरूलाई प्रेरित गरे।

गणेश निरौला (अनुराग)को उद्यमी यात्राले सही सोच, निरन्तर प्रयास र समयअनुकूल ज्ञानको प्रयोगले नेपालमै पनि व्यवसायिक सफलता सम्भव छ भन्ने स्पष्ट सन्देश दिन्छ। सीमित स्रोत र अनुभवबाट सुरु भएको ब्रान्डवेभ आज डिजिटल मार्केटिङ र ब्रान्डिङको क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल हुनु यसको उदाहरण हो।

नबिल बैंकको एसएसइजस्ता कार्यक्रमबाट प्राप्त मार्गदर्शन, संरचित सोच र व्यावहारिक ज्ञानले ब्रान्डवेभलाई दिगो र व्यवस्थित रूपमा अघि बढ्न मद्दत गरेको देखिन्छ।

अनुरागको अनुभवले देखाउँछ कि अवसर बाहिर खोज्नु पर्दैन, सकारात्मक सोच, सही निर्णय र निरन्तरताबाट अवसर आफैं सिर्जना हुन्छ। सानो कदमबाट सुरु गरिएको यात्रा नै ठूलो उपलब्धिमा परिणत हुन सक्छ भन्ने उनको कथा आजका युवाहरूका लागि प्रेरणादायी सन्देश बन्न सक्दछ ।