काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा घटेपनि बीमाशुल्क आर्जनमा उल्लेखनीय सुधार भएको छ।

चालु आवको पुस मसान्तसम्म कम्पनीले ३ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३.२९ प्रतिशतले कम हो। गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

नाफा घटे पनि कम्पनीको बीमाशुल्क संकलनमा उल्लेखनीय वृद्धि भएको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब १६ करोड ४५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७१ करोड ९१ लाख रुपैयाँको तुलनामा ६१.९४ प्रतिशतले बढी हो। यसले कम्पनीको व्यवसाय विस्तार र बजार पहुँचमा सुधार भएको देखिन्छ ।

त्यसैगरी, कुल बीमाशुल्क आर्जन पनि वृद्धि भएको छ। चालु आवको पुस मसान्तसम्म कम्पनीले २ अर्ब ३० करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। गत आवको सोही अवधिमा यो रकम १ अर्ब ८३ करोड ५४ लाख रुपैयाँ थियो। यस आधारमा कुल बीमाशुल्क २५.४१ प्रतिशतले बढेको देखिन्छ।

कम्पनीको वित्तीय अवस्थातर्फ हेर्दा, पुस मसान्तसम्म स्पेसल रिजर्भमा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ सञ्चित रहेको छ भने महाविपत्ति कोषमा २१ करोड ७१ लाख रुपैयाँ रहेको छ। त्यस्तै, रिटेन्ड अर्निङ १० करोड २९ लाख रुपैयाँ र अन्य इक्विटी ४७ करोड १५ लाख रुपैयाँ पुगेको छ।

२ अर्ब ६२ करोड रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडा कोषमा १० करोड २९ लाख रुपैयाँ सञ्चित छ। आम्दानी र खर्चतर्फ कम्पनीको कुल आम्दानी २२.१७ प्रतिशतले वृद्धि भएको छ भने कुल खर्च २७.२२ प्रतिशतले बढेको छ। खर्च वृद्धिको दर आम्दानी वृद्धिभन्दा उच्च भएकाले नाफामा दबाब परेको देखिन्छ।

वित्तीय सूचकका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (EPS) २.८५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २२७.४३ रुपैयाँ कायम भएको छ। समग्रमा बीमाशुल्क आर्जनमा सकारात्मक वृद्धि देखिए पनि खर्च वृद्धि र अन्य सञ्चालन सम्बन्धी कारणले नाफामा संकुचन आएको वित्तीय विवरणमा उल्लेख छ ।