काठमाडौँ। बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडले आगामी चैत १ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने तयारी गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गर्दै सेयर निष्कासन गर्न लागेको हो।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत माघ २९ गते जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत बराबर अर्थात २० करोड ८० लाख रुपैयाँ मूल्य बराबरका २० लाख ८० हजार कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा जारी गर्न अनुमति दिएको थियो।
जारी गरिने सेयरमध्ये १० प्रतिशत अर्थात १० लाख ४० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ। यसअन्तर्गत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा न. २, ३ र ४ का अति प्रभावित क्षेत्रका स्थायी बासिन्दालाई ५ लाख २० हजार कित्ता सेयर उपलब्ध गराइनेछ।
त्यसैगरी वडा न. ५, ६, ७ र ११ का प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख १२ हजार कित्ता सेयर वितरण गरिनेछ भने बाँकी २ लाख ८ हजार कित्ता सेयर सोलुखुम्बु जिल्लाभित्रका अन्य न्यून प्रभावित क्षेत्रका स्थायी बासिन्दालाई बिक्री गरिने कम्पनीले जनाएको छ।
साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत १५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा चैत ३० गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत ५ गते र ढिलोमा चैत १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।







