काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले देशको विकासका लागि प्रणाली तयार नहुँदा मुलुक अघि बढ्न नसक्ने बताएका छन्।

बुटवलमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले गत सात वर्षदेखि व्यवस्थित प्रणालीको माध्यमबाट काम गर्दै आएको बताए। उनले आफ्नो प्रयास किसानलाई समयमा मल उपलब्ध गराउनेदेखि पहाडी क्षेत्रका समस्यासम्म समाधान गर्न टोली बनाएर काम गर्ने भएको बताए।

उनले भने, ‘हामीले दिनरात ७ वर्ष काम गरेका छौँ। प्रोजेक्ट गभर्मेन्ट हामीले दिनरात काम गरेर किसानलाई समयमा मल पुर्‍याउनेदेखि पहाडको बाँदर कसरी खेद्ने भन्नेको सम्मको काम टीम बनाएर गरिरहेका छौँ। बल्ल काम गर्ने ठाउँमा जाने मौका पाएका छौँ।’

सभामा उनले पार्टीका नेता र कार्यकर्तालाई चुनावअघि घरघर पुगेर मतदाता भेट्न निर्देशन दिएका छन्। थापाले सामाजिक सञ्जालमा मात्र सक्रिय हुनु पर्याप्त नभएको भन्दै, मतदातासँग प्रत्यक्ष भेटघाट गरेर कांग्रेसको नयाँ संकल्प र योजना बुझाउनुपर्ने बताए।