काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारमा गएपछि सबैभन्दा पहिले शेरबहादुर देउवाको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भइसकेकाको सम्पत्ति छानबिन गर्ने बताएका हुन् ।

सभापति थापाले भ्रष्टाचार छानबिनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने कांग्रेसको संकल्प रहेको दाबी गरे ।

उनले भने, ‘२०४६ सालपछि प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवाको सम्पती, मन्त्री भएको गगन थापाको सम्पती सबैभन्दा पहिला त्यहाँबाट छानबिन शुरु गर्छ।’

सभापति थापाले मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपान्तरण ल्याउने गरी कांग्रेसले सरकार बनाएर काम गर्ने आश्वासन दिलाए।