काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्धित सम्पत्ति विवरणबारे छानबिन प्रक्रिया सुरु गरिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आवश्यक अनुसन्धान अघि बढाउन पत्राचार गरेसँगै प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो। प्रारम्भिक चरणमा उनीहरू, उनीहरूको परिवार तथा सचिवालयसँग सम्बन्धित व्यक्तिहरूको सम्पत्ति स्रोत र विवरण अध्ययन गरिने जनाइएको छ।

यसैक्रममा पूर्व ऊर्जा मन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका सिलसिलामा पक्राउ गरिएको छ। उक्त घटनापछि उच्च राजनीतिक तहमा पनि अनुसन्धानको दायरा विस्तार गरिएको स्रोतले जनाएको छ।

छानबिनका क्रममा कुनै पनि व्यक्तिले अवैध स्रोतबाट सम्पत्ति आर्जन वा शुद्धीकरण गरेको प्रमाणित भएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने सीआईबीले जनाएको छ। अनुसन्धानको समय सीमा तथा निष्कर्षबारे भने हालै केही स्पष्ट गरिएको छैन।