काठमाडौं। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिसम्बन्धी विषयमा सरकारले औपचारिक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। यस क्रममा देउवा र उनका परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गर्ने काम भइरहेको बताइएको छ ।
प्रमाण नष्ट हुनसक्ने आशंकालाई ध्यानमा राख्दै बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा भइरहेको भवन भत्काउने कार्यलाई प्रहरीले तत्काल रोक लगाएको छ ।
स्रोतका अनुसार, सत्ताको प्रभाव प्रयोग गरी अस्वाभाविक तथा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा देउवा परिवारविरुद्ध यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता भएको थियो। अहिले ती उजुरीसँग सम्बन्धित तथ्य र प्रमाणहरू थप संकलन गरी अनुसन्धानलाई विस्तार गरिएको छ ।
गृह मन्त्रालय र नेपाल प्रहरीसँग सम्बद्ध स्रोतहरूले पछिल्लो एकदेखि डेढ वर्षको अवधिमा जयवीर देउवा तथा उनका निकट नातेदारहरूको नाममा खरिद गरिएको करिब ७३ रोपनी जग्गाको विवरण संकलन भइसकेको जानकारी दिएका छन् ।
त्यस्तै, देउवाका नातेदार प्रदीपशम्सेर जबरा, भुषण राणा लगायतका व्यक्तिहरूमार्फत जयवीर देउवा र अन्य व्यक्तिहरूका खातामा भएका वित्तीय कारोबारबारे पनि अनुसन्धान भइरहेको बताइएको छ ।
यसैबीच, नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवाको सम्भावित संलग्नता र नेपाल टेलिकमको बिलिङ अनियमिततासँग जोडिएको विवादास्पद निर्णयपछि भएका कारोबारबारे परेको उजुरीमाथि पनि छानबिन जारी रहेको स्रोतको दाबी छ ।
सोही अनुसन्धानका क्रममा प्रमाण सुरक्षित राख्न आवश्यक ठहरिएपछि बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने कार्य रोक्न निर्देशन दिइएको बताइएको छ।
उक्त परिसरभित्र देउवा परिवारले दुईवटा बंगला निर्माण गरेका थिए, जसबारे यसअघि पनि उजुरी परेको थियो । जेनजी आन्दोलनका क्रममा उक्त घरमा आक्रमण र आगजनीसमेत भएको थियो ।
पछिल्ला केही दिनयता क्षतिग्रस्त संरचना हटाउन देउवा परिवारले कामदार परिचालन गरेर भत्काउने काम गराइरहेका थिए । तर, अनुसन्धानमा असर पर्न सक्ने र प्रमाण नष्ट हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्चस्तरीय निर्देशनमा सो कार्य रोकिएको प्रहरी स्रोतले जनाएको छ।







