काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्ति हुने आश्वासन दिएका छन् ।

सत्तारुढ दल काँग्रेसका सभापति देउवाले शुक्रवार निजी निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा राष्ट्र बैंकले अब छिट्टै गभर्नर नियुक्तिको विषय चाडै नै टुङ्गो लाउने आश्वासन दिएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता डा. प्रकाश शरण महतले सभापति देउवाको भनाइ उद्धृत गर्दै राष्ट्र बैंकको नेतृत्व मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढङ्गबाट अगाडि बढाउन सक्ने व्यक्ति गभर्नर बन्नुपर्ने धारणा प्रकट गरेका छन्।

राष्ट्र बैंकको विषय निकै ढिलो भएको छ यसमा सबैको चासो प्रकट भएको छ । सभापतिज्यूले यो चाँडै टुङ्गिन्छ, हामीले यो जुन भनेका छौँ । प्रोफेसनल, व्यावसायिक र राष्ट्र बैंकको नेतृत्व यस्तो व्यावसायिक व्यक्तित्वको हातमा जानुपर्‍यो जसले मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढङ्गबाट अगाडि बढाउन सकोस् । महतले भने

प्रवक्ता महतले सरकारमा रहेका राजनीतिक दलहरूको सहमतिबाटै गभर्नरको नियुक्ति हुने र त्यसको अभ्यास अन्तिम चरणमै रहेको कारण चाडै नै टुङ्गो लाग्ने उनको भनाइ छ ।