काठमाडौँ । जेनजी प्रदर्शनसँग सम्बन्धित घटनाबारे अध्ययन गर्न गठन गरिएको जाँचबुझ आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीलाई करिब एक सय पृष्ठको प्रतिवेदन हस्तान्तरण गरेको हो।
सरकारले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका घटनाबारे सत्यतथ्य पत्ता लगाउन असोज ५ गते उक्त आयोग गठन गरेको थियो। आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्यका रूपमा रहेका छन्।
आयोगले दुवै दिन भएका घटनाहरूलाई छुट्टाछुट्टै रूपमा अध्ययन गरी त्यसअनुसार फरक–फरक कारबाहीको सिफारिस गरेको स्रोतले जनाएको छ।
आयोगका सदस्य तथा पूर्व एआईजी विज्ञानराज शर्माले प्रदर्शनका क्रममा भएका घटनामा संलग्न व्यक्तिहरूमाथि फौजदारी मुद्दासम्म चलाउन सिफारिस गरिएको जानकारी दिएका छन्।
सञ्चारकर्मीहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि पनि फौजदारी कारबाही सिफारिस गरिएको हो कि भन्ने प्रश्न उठाएका थिए। त्यसको जवाफमा शर्माले गल्ती गर्ने जो–कोहीमाथि कानुनी कारबाहीको सिफारिस गरिएको बताउँदै विस्तृत विवरण अहिले सार्वजनिक गर्न नमिल्ने बताएका छन्।
उनले प्रतिवेदन बुझाइसकेपछि त्यसको स्वामित्व सरकारको हुने भएकाले अब सार्वजनिक गर्ने विषय सरकारकै जिम्मेवारी भएको उल्लेख गरे।
शर्माका अनुसार छानबिनका क्रममा बानेश्वरस्थित ब्यारिकेडदेखि संसद भवनसम्म सुरक्षामा गम्भीर कमजोरी देखिएको पाइएको छ। उनले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक तथा प्रहरी प्रमुख चन्द्रकुबेर खापुंगलगायत जिम्मेवार पदमा रहेका व्यक्तिहरूमाथि कडा कारबाहीको सिफारिस गरिएको संकेत समेत गरेका छन्।
आयोगले अनुसन्धानका क्रममा दुई सयभन्दा बढी व्यक्तिहरूसँग बयान लिएको र प्रतिवेदन तयार गर्नुअघि विभिन्न क्षेत्रका विज्ञहरूसँग समेत व्यापक छलफल गरिएको जानकारी दिइएको छ।







