काठमाडौँ । देशभर निर्वाचनको मतगणना जारी छ । मत परिणाम सार्वजनिक भइरहे पनि अब सरकार कहिले गठन हुन्छ भन्ने जिज्ञासा सर्वसाधारणमा बढ्दो देखिएको छ । निर्वाचन कार्यालय स्रोतका अनुसार आज बेलुकासम्म बाँकी रहेका क्षेत्रहरूको अन्तिम परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
हाल १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रको मतगणनासँगै समानुपातिकतर्फको मतगणना पनि सुरु भइसकेको छ । प्रत्यक्षतर्फको गणना अन्तिम चरणतर्फ पुग्दै जाँदा समानुपातिक मतगणना अझ तीव्र बनाइने निर्वाचन आयोगले जनाएको छ ।
सरकार गठनको औपचारिक प्रक्रिया भने समानुपातिक सिटको बाँडफाँड सम्पन्न भएपछि मात्रै अघि बढ्नेछ । समानुपातिक मतगणना सकिएपछि आयोगले सम्बन्धित राजनीतिक दलहरूलाई बन्दसूचीमा रहेका उम्मेदवारमध्ये कसलाई सांसद बनाउने भन्ने विवरण पठाउन आग्रह गर्नेछ ।
यस क्रममा संविधानले व्यवस्था गरेको समावेशी सिद्धान्तअनुसार दलहरूले बन्दसूचीबाट आवश्यक मापदण्ड पूरा हुने गरी सांसदको नाम सिफारिस गर्नुपर्ने हुन्छ । दलहरूले पठाएको नामावली आयोगले परीक्षण गरी पुष्टि गरेपछि प्रत्यक्षतर्फबाट निर्वाचित १६५ जना र समानुपातिकतर्फबाट चयन हुने ११० जना गरी कुल २७५ सांसदको सूची तयार गरिनेछ ।
उक्त नामावली त्यसपछि राष्ट्रपति कार्यालयमा पठाइनेछ । राष्ट्रपति समक्ष सूची पुगेपछि संवैधानिक प्रावधानअनुसार सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । यो सम्पूर्ण प्रक्रिया पूरा हुन करिब एक साता लाग्न सक्ने अनुमान गरिएको छ ।
यसपटकको चुनावी परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्पष्ट बहुमत नजिक पुर्याउने संकेत देखिएको छ । प्रत्यक्षतर्फ करिब १२० सिट जित्ने सम्भावना देखिएको उक्त दलले समानुपातिक सिट समेत जोड्दा झण्डै दुईतिहाइ नजिक पुग्ने आकलन गरिएको छ ।
यसैबीच सो दलका तर्फबाट संसदीय दलको नेताका रूपमा प्रस्तावित बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा चर्चा गर्न थालिएको छ।







