काठमाडौं। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि गठन भएको नयाँ संसद्को पहिलो अधिवेशन आजबाट सुरु हुँदैछ। आज बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा प्रतिनिधिसभाको बैठक बस्ने कार्यक्रम तय गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले चैत १६ गते मन्त्रिपरिषद्को सिफारिसका आधारमा संविधानअनुसार संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। भौतिक पूर्वाधार, सुरक्षा प्रबन्ध, प्राविधिक व्यवस्था तथा आवश्यक जनशक्ति सबै व्यवस्थापन गरिएको उनले जानकारी दिए। राष्ट्रियसभाको बैठक भने संसद् सचिवालय परिसरभित्रै रहेको राष्ट्रियसभा कक्षमा सञ्चालन हुनेछ।
संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको ३० दिनभित्र अधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ। निर्वाचन आयोगले चैत ५ गते निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको थियो।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ र एक स्वतन्त्र सांसद रहेका छन्।







