काठमाडौँ — अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा)ले आर्टिमिस-२ मिसनका अन्तरिक्ष यात्रीहरूले पृथ्वी र चन्द्रमाबीचको आधा बाटो पार गर्दा खिचेको पृथ्वीको पहिलो ‘हाइ रिजोलुसन’ तस्बिर सार्वजनिक गरेको छ ।

मिसन कमान्डर रिड वाइजम्यानले उक्त तस्बिरहरू खिचेका हुन् । अन्तरिक्ष यानलाई चन्द्रमाको कक्षतर्फ धकेल्न गरिएको अन्तिम ‘इन्जिन बर्न’ पछि यी तस्बिरहरू लिइएको नासाले जनाएको छ । नासाको अनलाइन ड्यासबोर्डका अनुसार ‘ओरियन’ अन्तरिक्ष यान अहिले पृथ्वीबाट करिब २ लाख २८ हजार ५ सय किलोमिटर र चन्द्रमाबाट करिब १ लाख ३२ हजार माइलको दूरीमा छ ।

अन्तरिक्ष यात्री क्रिस्टिना कोचले उडान भरेको २ दिन, ५ घण्टा र २४ मिनेटपछि यो पार गर्दा चालक दलमा खुसी छाएको बताइन् ।

पृथ्वीको विहंगम दृश्य

‘हेलो, वर्ल्ड’ नाम दिइएको पहिलो तस्बिरमा विशाल आन्ध्र महासागर नीलो रङमा फैलिएको देखिएको छ । पृथ्वीले सूर्यलाई छेक्दा वायुमण्डलमा देखिएको चमक र दुवै ध्रुवमा हरियो अरोरा पनि तस्बिरमा कैद भएका छन् ।

तस्बिरमा पृथ्वी उल्टो देखिन्छ, जसको देब्रेपट्टि पश्चिमी सहारा र आइबेरियन प्रायद्वीप तथा दाहिनेपट्टि दक्षिण अमेरिकाको पूर्वी भाग देख्न सकिन्छ । नासाले तस्बिरको तल दाहिनेपट्टि देखिएको चम्किलो ग्रह ‘शुक्र’ भएको पुष्टि गरेको छ ।

FD02_GMT093Post-TLIEarthArtemisIICrew1003

बीबीसीका अनुसार शुक्रबार बिहान ‘ट्रान्स-लुनार इन्जेक्सन बर्न’ सफलतापूर्वक सम्पन्न भएपछि यी तस्बिरहरू लिइएका हुन् । यसले ओरियन अन्तरिक्ष यानलाई पृथ्वीको कक्षबाट बाहिर निकालेको थियो, जसमा सवार चार अन्तरिक्ष यात्रीहरू चन्द्रमासम्मको करिब ३ लाख २० हजार किलोमिटर (२ लाख माइल) भन्दा बढीको यात्रा गर्दैछन् ।

आर्टिमिस-२ अहिले चन्द्रमाको पछाडिको भाग हुँदै घुमेर फेरि पृथ्वीमा फर्किने मार्गमा छ । सन् १९७२ पछि मानव पृथ्वीको कक्षभन्दा बाहिर गएको यो पहिलो पटक हो ।

फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको यो अन्तरिक्ष यान अप्रिल ६ मा चन्द्रमाको पछाडिको भागमा पुग्नेछ र अप्रिल १० मा प्रशान्त महासागरमा अवतरण (स्प्लासडाउन) गर्दै पृथ्वीमा फर्किनेछ ।