काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई लिएर उठेका जिज्ञासापछि गृहमन्त्री सुधन गुरुङले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्तिको स्रोत र अवस्था स्पष्ट पार्ने प्रयास गरेका हुन्।
उनले सरकारमा प्रवेश गर्नुअघि इमान्दारीपूर्वक सम्पत्ति कमाउनु गलत नभएको तर पदमा रहँदा भ्रष्टाचारमार्फत कमाउनु गलत हुने धारणा व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, “तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो। सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो।”
सार्वजनिक विवरणअनुसार गुरुङको नाममा धनकुटा, चितवन र गोरखामा उल्लेखनीय मात्रामा जग्गा रहेको देखिएको छ। धनकुटामा १९ रोपनी, चितवनमा ३० कट्ठा तथा गोरखामा २२१ रोपनी जमिन रहेको विवरणमा जनाइएको छ।
यसका अतिरिक्त, बैंकमा करिब ६० लाख रुपैयाँ मौज्दात रहेको, विभिन्न कम्पनीमा करिब साढे ४ करोड रुपैयाँ बराबरको सेयर लगानी भएको र एक सवारी साधन रहेको पनि विवरणमा उल्लेख गरिएको छ। चल सम्पत्तिअन्तर्गत ८९ तोला सुन र ६ किलो चाँदी रहेको जानकारी दिइएको छ।
गृहमन्त्री गुरुङले आफ्नो सम्पत्तिको ठूलो हिस्सा पैतृक स्रोतबाट प्राप्त भएको दाबी गरेका छन्।






