काठमाडौं। गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । उनले विवादित व्यवसायीसँग साझेदार रहेको र सेयर कारोबार गरेको विषयमा चौतर्फी आलोचना भएपछि आज प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राजीनामा दिएको जानकारी गराउँदै उनले आफूमाथि उठेका प्रश्नलाई गम्भीर रुपमा लिएको बताए। उनले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको पनि उल्लेख गरेका छन्।

सामाजिक सञ्जालमा गुरुङले लेखेका छन्, ‘म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु,’ उनले भनेका छन्, ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ । सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ । मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो । त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व नेदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु ।’