काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिसम्म देशभरि ५४८ किलोमिटर नयाँ सडकमा कालोपत्र गरिएको छ । चैत मसान्तसम्म दुई लेन सडक ४७४ र चार लेन सडक ७४ किलोमिटर नयाँ कालोपत्र भएको हो । चालु आवमा सरकारले कुल ८ सय किलोमिटर दुई लेन सडक कालोपत्र गर्ने लक्ष्य लिएको सडक विभागले जनाएको छ।।
जसमध्ये ९ महिनामा ५० प्रतिशत माथि प्रगति भएको देखिन्छ । यस आवमा चार लेन सडक भने १०९ किलोमिटर नयाँ कालोपत्र गर्ने लक्ष्य थियो । जसको प्रगति ६७ प्रतिशत हाराहारी भएको देखिन्छ। यस अवधिमा पुल निर्माण भने ११८ वटा भइसकेका छन् । यस वर्ष सरकारले १६२ वटा पुल निर्माणको लक्ष्य राखेको छ । विभागका अनुसार यस अवधिमा बेली ब्रिज जडान ३ वटा भएका छन् । कुल ५ बेलीब्रिज जडानको लक्ष्य रहेको छ ।
यस वर्ष क्र्यास बेरियर ३७ हजार १४२ मिटर राखिएको छ । राजमार्ग मर्मत भने ७१ किलोमिटर बराबर भएको सडक विभागको तथ्यांक छ । राजमार्ग पुनर्निर्माण तथा स्तरोन्नति ५२ किलोमिटर बराबर भएको छ ।
यस वर्ष ९ महिनामा सडक विभागमार्फत कुल ३ हजार ८७१ कार्यदिन बराबर रोजगारी सिर्जना भएको तथ्यांकमा उल्लेख छ । विभागले ९ महिनामा ४४ अर्ब रुपैयाँ बराबर कुल बजेट खर्च गरेको छ । यस वर्ष विभागले १ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।







