काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालमा ४१ अर्ब ७९ करोड रुपैयाँ बराबरको वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि चैतसम्म ६१५ परियोजनामार्फत कुल ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको हो।

चैत महिनामा मात्रै ६१ परियोजनाबाट एक अर्ब १२ करोड २९ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको देखिन्छ, जुन अघिल्ला महिनाहरूको तुलनामा वृद्धि भएको तथ्यांकले संकेत गर्छ। फागुनसम्म भने ५५४ परियोजनामार्फत ४० अर्ब ६६ करोड ९३ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको थियो।

विभागका अनुसार समीक्षा अवधिमा नियमित प्रक्रियाबाट १८९ परियोजनामा ३७ अर्ब ६९ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ भने स्वचालित प्रणालीमार्फत ४२६ परियोजनामा चार अर्ब नौ करोड रुपैयाँ बराबरको लगानी सुनिश्चित भएको छ।

क्षेत्रगत रूपमा हेर्दा कृषिक्षेत्रका १६ परियोजनामा सबैभन्दा धेरै २२ अर्ब ८८ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। पर्यटनसँग सम्बन्धित १६४ परियोजनामा ११ अर्ब ४६ करोड २० लाख रुपैयाँ, सेवा क्षेत्रमा ४७ परियोजनामा तीन अर्ब ८९ करोड ६४ लाख रुपैयाँ लगानी आएको छ।

त्यस्तै, सूचना प्रविधि क्षेत्रका ३४६ परियोजनामा एक अर्ब ४५ करोड ७२ लाख रुपैयाँ, खनिज क्षेत्रका दुई परियोजनामा ११ करोड ५० लाख रुपैयाँ र ऊर्जा क्षेत्रका दुई परियोजनामा २३ करोड ४२ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता रहेको छ। पूर्वाधार क्षेत्रमा भने यस अवधिमा कुनै लगानी प्रतिबद्धता आएको छैन।

यी परियोजनाहरू कार्यान्वयनमा गएमा करिब २२ हजार ३०० जनाले रोजगारी पाउने अनुमान गरिएको छ।