काठमाडौं। आज देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराईमा आंशिक बादल लाग्ने पुर्वानुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुने सम्भावना छ।
यस्तै, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ ।
कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने छ भने बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।







