काठमाडौं । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा रेमिट्यान्स २५ प्रतिशतभन्दा बढीले बढेको छ। राष्ट्र बैंकले आज सार्वजनिक गरेको पुस मशान्तसम्मको तथ्याँकमा रेमिट्यान्स बढ्दै गएको देखिएको छ ।

पुस मसान्तसम्ममा ७३३ अर्ब २२ करोड रेमिट्यान्स भित्रिएको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २५.३ प्रतिशतले बढी हो। पुस महिनामा मात्रै १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको केन्द्रीय बैंकको जानकारी छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो ।

त्यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २०७,९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १३५,४३५ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २७५,६४३ र १४२,५४८ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई रु ७९९ अर्ब ५१ करोड पुगेको छ ।