काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन अमेरिका प्रस्थान गरेका छन् ।

शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।

प्रधानमन्त्री ओली अमेरिका उडेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पाएका छन् । प्रधानमन्त्री ओली पछिको वरीयतामा रहेका सिंहले कार्यवाहकको जिम्मेवारी पाएका हुन् । प्रधानमन्त्री नफर्किएसम्म उनले जिम्मेवारी सम्हाल्ने छन् ।

प्रधानमन्त्री ओलीसहित पत्नी राधिका शाक्य,प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल लगायत अमेरिका उडेका छन् ।