भारत सरकारले पेट्रोल, डिजेल तथा एभिएसन टर्बाइन फ्युल (एटीएफ) मा लाग्दै आएको निर्यात शुल्क घटाउने निर्णय गरेको छ । भारतीय सरकारले शनिबार जारी गरेको सूचनाअनुसार नयाँ व्यवस्था १ जुनदेखि लागू हुनेछ ।

इन्धन निर्यातलाई सहज बनाउने तथा अन्तर्राष्ट्रिय बजारको अवस्थालाई ध्यानमा राखेर निर्यात शुल्क घटाइएको जनाएकाे छ।

समाचार संस्था रोयटर्सका अनुसार पेट्रोलमा निर्यात शुल्क १.५ रुपैयाँ प्रतिलिटर तोकिएको छ भने डिजेलमा १३.५ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । त्यस्तै, एटीएफ (एभिएसन टर्बाइन फ्युल) मा ९.५ रुपैयाँ प्रतिलिटर निर्यात शुल्क निर्धारण गरिएको छ ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने निर्यात शुल्क हरेक दुई सातामा परिवर्तन हुने व्यवस्था कायम गरेको छ । कच्चा तेल, पेट्रोल, डिजेल तथा एटीएफको विश्वव्यापी औसत मूल्यलाई आधार बनाएर यी दरहरू निर्धारण गरिनेछ ।

सामान्यतया, सरकारले प्रत्येक पन्ध्र दिनमा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यको समीक्षा गर्छ र त्यस पेट्रोल, डिजेल र एटीएफमा निर्यात शुल्क निर्धारण गरिन्छ । निर्यात शुल्क पुनः समायोजन गरे पनि घरेलु उपभोक्ताका लागि लागू हुने कर तथा शुल्क यथावत् राखिएको छ ।

निर्यात शुल्क एक प्रकारको अप्रत्यक्ष कर हो, जुन सरकारले आफ्नो देशबाट बाहिर अन्य देशमा पठाइने वस्तुहरूमा लगाउँछ । यस्तो करले मुख्यतः अन्तर्राष्ट्रिय व्यापार, निर्यात लागत र बजार प्रतिस्पर्धामा प्रभाव पार्ने गर्छ ।