काठमाडौँ। बिहीबार राति देखि लगातार परेको वर्षा सहित आएको बाढी पहिरोको कारण निजी क्षेत्रका विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेको छ ।

बाढीका कारण २२ मेगावाट क्षमताको मान्डू हाइड्रोपावरद्वारा प्रवर्द्धित बागमती साना जलविद्युत आयोजना, मकवानपुर पावर हाउस पूणर्रुपमा डुबेको छ । त्यस्तै, माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनाको निर्माणाधीन स्थल बाढीबाट प्रभावित हुनुको साथै पावर हाउस डुबानमा परेको छ।

साथै, पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनामा गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनर्निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षति भएको छ ।

बाढीले साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको हेडवक्र्समा क्षति गरेसँगै विद्युत् उत्पादन समेत अवरुद्ध भएको छ। सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनाको बाँध र टेलरेसमा क्षति हुनको साथै उत्पादन समेत बन्द भएको छ ।

त्यस्तै, सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति भएको हो। फेमे खोला जलविद्युत आयोजना १ मेगावाटको बाँध र विद्युतगृह पूणर्रुपमा क्षति भएको छ । उक्त आयोजनासँगै ५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजनाको टेलरेस, इन्टेक र टनेलमा क्षति भएको आयोजनाले जानकारी दिएको छ ।

वर्षासंगै आएको बाढीको कारण ४० मेगावाट क्षमताको सुपरन्यादी जलविद्युत आयोजनाको पहुँच मार्गमा क्षति हुनुको साथै प्रोटेक्सन वाल समेत भत्किएको छ। इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाटको पहुँच मार्गमा ठुलो क्षति भएको आयोजना स्रोतले जानकारी दिएको छ ।

त्यसैगरी क्रमशः २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको क्याम्प हाउस, पहुँच मार्गमा क्षति हुनुको साथै ३ वटा कन्टेनर बगाएको छ । त्यस्तै १० मेगावाट क्षमताको हेवाखोला जलविद्युत आयोजनाको क्रसर पुरिनुको साथै पहुँच मार्गमा क्षति, भएको छ। उक्त आयोजनाको प्रसारण लाइनको टावर ढलेको छ भने पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको बाढीले बगाएको छ।

पाँचथरमा अवस्थित १५.१ मेगावाट सभा खोला बी जलविद्युत आयोजनाको पहुँच मार्ग, पावर हाउस पुरिनुको साथै बाँधमा क्षति भएको छ। साथै अस्थायी पुल बगाएको छ । ६.३ मेगावाट सभा खोला सी जलविद्युत आयोजनाको पहुँच मार्गमा क्षति भएको जनाएको हो ।

बाढीकै कारण कास्कीमा अवस्थित ८६.५९ मेगावाट क्षमताको लान्द्रुक मोदी जलविद्युत आयोजनाको पहुँच मार्गमा क्षतिमा क्षति भएको छ। यता १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत आयोजनाको २ वटा स्काभेटर बगाउनुको साथै २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको छ भने बेलीब्रिज समेत बगाएको छ । बाढीले पावर हाउस स्काभेसन समेत पुरिएको आयोजनाले जानकारी दिएको छ ।

जलविद्युत आयोजनामा भएको क्षति विवरण थप आउन बाकी ऊर्जा उत्पादक संघ (इपान)ले जानकारी दिएको छ ।