काठमाडौँ । नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताए ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सभापति देउवाले हनिमुन डेजमा सरकारले राम्रो काम गरेको बताएका हुन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कारण नभएको उनको भनाइ छ ।
सभापति देउवाले सबै किसिमबाट सरकारले गति लिएको उल्लेख गर्दै विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको बताए। राहत तथा खोजी उद्धारमा सरकारले आफ्नो हिसाबले सुरक्षाकर्मीहरू तैनाथ गरी व्यवस्थापन गरेको भुल्न नहुने उनको तर्क छ ।
वर्तमान सरकार पूरा कार्यकाल जाने र एमाले—काँग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने बताए।
उनले भने, ‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ। सय दिनलाई मैले त राम्रो मानेको छु। सय दिनलाई हनिमुन डेज भन्छन् नि। राम्रो काम गरेको छ। बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ। काँग्रेस असन्तुष्ट छ, कसले भन्यो असन्तुष्ट भनेर । कहाँ असन्तुष्ट हुनु, कुरै छैन नि त्यो त । सानातिना समस्या एउटै पार्टीभित्र त हुन्छ भने त्यो अर्को पार्टी हो। त्यस्तो केही छैन।’







