काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा फर्काएको बताएका छन् । आज काठमाडौँमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले यस्तो बताएका हुन् । उनले अहिले सरकारले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्न काम गरिरहेको बताए।
गुरुङले आफूहरू सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेको र अहिलेको सरकारले आइसियुमा ल्याएको उल्लेख गर्दै अब छिटै नै लयमा फर्किने दाबी गरे । ‘नेपाल सरकारले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरू समाधान गर्नको लागि काम गरिरहेको छ । हामी सरकारमा आउँदा त अर्थतन्त्र साँच्चै नै कोमामा थियो । त्यो कोमामा भएको अर्थतन्त्रलाई हामीले कमसेकम अहिले आइसियुमा ल्याएका छौँ। ’ उनले भने ।
उनले अर्थतन्त्रलाई लयमा फर्काउने उद्देश्यले नै अहिले कानुनी र नीतिगत क्षेत्रमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको बताए । आइटी क्षेत्रलाई उद्योगको रूपमा स्थापित गर्न पनि अध्यादेशमा व्यवस्था गरिएको बताए । ‘कानुनी क्षेत्रमा, नीतिगत क्षेत्रमा रहेका समस्याहरू सबै जुन बाधकहरू थिए, त्यसलाई हल गर्नको लागि हामीले अध्यादेश जारी गरेका छौँ,’ उनले भने,
‘यो अध्यादेशले धेरै कुराहरू फुकाएको छ भन्ने मलाई लाग्छ । एआईको एपलाई कसरी गर्ने भन्ने सबैको चासो थियो । आइटी सेक्टरलाई इण्डस्ट्रीको रूपमा कसरी विकसित गर्ने भन्ने चिन्ता थियो ।’मन्त्री गुरुङले जिडिपीमा डिजिटल इकोनोमीबाट ३ प्रतिशत सहयोग होस् भन्ने अपेक्षा सरकारले गरेको बताए ।







