काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूले पटक–पटक गैरबैंकिङ सम्पत्ति बिक्रीको लागि सार्वजनिक सूचना जारी गर्दा समेत बिक्री नभएपछि बैंकिङ क्षेत्रमा दबाब परको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार चालू आर्थिक वर्षको पाँच महिना (मंसिर) सम्म बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति कुल ३९ अर्ब ४७ करोड १० लाख रुपैयाँ पुगेको छ । खराब कर्जा बढ्दै गएपछि गैरबैंकिङ सम्पत्ति पनि बढ्दै गएको छ । बैंकहरूको गैरबैंकिङ सम्पत्ति गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ अर्ब ३० करोड ६० लाख रुपैयाँले बढेको छ ।
गत वर्ष मंसिरमा गैरबैंकिङ सम्पत्ति २२ अर्ब १६ करोड ५० लाख रुपैयाँ थियो भने निष्क्रिय तीन दशमलव ६६ प्रतिशत थियो । गत मंसिरसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको औसत निष्क्रिय कर्जा चार दशमलव २८ प्रतिशत छ भने गैरबैंकिङ सम्पत्ति ३२ अर्ब ६५ करोड ५० लाख रुपैयाँ छ । जुन एक वर्षअघिको तुलनामा १४ अर्ब २३ करोड ५० लाख रुपैयाँले बढी हो ।
हाल सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूमा गत मंसिरसम्म औसत निष्क्रिय कर्जा चार दशमलव ३७ प्रतिशत छ भने गैरबैंकिङ सम्पत्ति चार अर्ब ५४ करोड २० लाख रुपैयाँ छ । गैरबैंकिङ सम्पत्ति गत आर्थिक वर्षको मंसिर मसान्तको तुलनामा दुई अर्ब १० करोड २० लाख रुपैयाँले बढी हो । गत वर्ष मंसिरमा विकास बैंकहरूको गैरबैंकिङ सम्पत्ति दुई अर्ब ४४ करोड रुपैयाँ थियो भने निष्क्रिय कर्जा तीन दशमलव १९ प्रतिशत थियो ।
बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैँले सकार्छन् । यसरी सकारेको सम्पत्ति नै गैरबैंकिङ सम्पत्ति हो । त्यस्तै, सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा औसत १० दशमलव ८४ प्रतिशत छ भने गैरबैंकिङ सम्पत्ति दुई अर्ब २७ करोड ४० लाख रुपैयाँ छ ।
फाइनान्स कम्पनीहरूको गैरबैंकिङ सम्पत्ति एक वर्षअघिको तुलनामा ९६ करोड ८० लाख रुपैयाँले बढेको छ । गत वर्ष मंसिर मसान्तमा गैरबैंकिङ सम्पत्ति एक अर्ब ३० करोड ६० लाख रुपैयाँ थियो ।







