काठमाडौँ । स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदमा सरकारले डा रघुराज काफ्लेलाई नियुक्त गरेको छ।
सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्येमा तनहुँका विकास अर्थशास्त्री डा वाग्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको निजी सचिवालयद्वारा आज जारी जानकारी अनुसार सिफारिस समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्तापश्चात अन्तिम सूचीमा डा काफ्लेसहित डा कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।
मन्त्री पौडेलले गठन गरेको बिमा सुझाव कार्यदलमा डा काफ्ले सदस्य थिए । कार्यदलले स्वास्थ्य बिमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो ।
यसअघि डा काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ । बोर्डमा रहँदा डा काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी नयाँ कार्यक्रम सुरु गरेका थिए ।






